रवि लामिछाने भैरहवा कारागार चलान

सोमबार, २५ चैत्र २०८१
बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा स्थित जिल्ला कारागार पुर्‍याइएको छ। शुक्रबार राति काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते बिहान ९ः१२ बजे यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थलमा ल्याई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। सरकारी बिदाका कारण दुई दिन हिरासतमा रहेका उनलाई आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराई थुनुवा पुर्जी दिइएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए। अब अदालतको अन्तिम निर्णय नआएसम्म उनी सोही कारागारमा रहनेछन्। गत शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सुप्रिम सहकारी प्रकरणमा उनीमाथि सहकारीको रकम ठगी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले उक्त आदेश दिएका हुन्। यससँगै जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश पनि बदर भएको छ। जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका थिए। उच्च अदालतले जिल्ला अदालतले दिएका आधारहरूलाई अस्वीकार गर्दै घटनाको प्रकृति, पीडितको अवस्था र अन्य सान्दर्भिक पक्षहरूलाई मध्यनजर राख्दै थुनामा पठाउने आदेश दिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार