इलाम । इलामका दुई पत्रकारले यस वर्ष ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ र ‘क्रियाशील महिला पत्रकारिता पुरस्कार’ प्राप्त गर्ने भएका छन्।
नेपाल पत्रकार महासंघ इलाम शाखाको आइतबार बसेको बैठकले किरण पौडेललाई ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ र सुनिता मगरलाई ‘क्रियाशील महिला पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो।
महासंघका सचिव टीका खतिवडाका अनुसार दुबै पुरस्कारको राशि दश हजार रुपैयाँ रहेको छ। इलाम शाखाका अध्यक्ष भीम चापागाईंले पुरस्कृत दुवै पत्रकारलाई महासंघको स्थापना दिवसका अवसरमा सम्मान गरिने जानकारी दिए।
२०७२ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पौडेलले इलाम आवाज साप्ताहिक, इलाम पोस्ट दैनिक, इलाम एफएम, राष्ट्रिय समाचार समिति (रासस) लगायतका सञ्चारमाध्यमहरूमा काम गरेका छन्। हाल उनी काठमाडौंस्थित हिमाल प्रेसमा डेस्क सम्पादकका रूपमा कार्यरत छन्।
यसअघि उक्त पुरस्कारबाट बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती, भगीरथ भण्डारी, टीका खतिवडा, विक्रम सुन्दास लगायत पुरस्कृत भइसकेका छन्।
साथै, पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङका आनन्द गौतम, सीता निरौला र चन्द्र पन्दाक पनि यसै पुरस्कारबाट सम्मानित भएका थिए।
क्रियाशील महिला पत्रकार पुरस्कार प्राप्त गर्न लागेकी सुनिता मगर हाल रेडियो नेपालवाडी, इलामको समाचार कक्षमा कार्यरत छिन्। यसअघि सविता पाण्डे र सुजता सुनुवारले सो पुरस्कार प्राप्त गरेका थिए।
२०७९ सालमा माइक्खोलामा पौडी खेल्ने क्रममा निधन भएका पत्रकार आशिष राईको स्मृतिमा स्थापना गरिएको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ २०६० सालदेखि वितरण हुँदै आएको हो।
सन्दकपुर गाउँपालिकाको सुलुबुङमा जन्मिएका राईको योगदानको कदरस्वरूप इलामका पत्रकारहरूले उक्त पुरस्कार कोष स्थापना गरेका थिए।
प्रतिक्रिया