धादिङ । गजुरी गाउँपालिका–२, डुँडेठाँटीका ६० वर्षीय चुडामणि कँडेलको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। घटनाको करिब एक महिनापछि जिल्ला प्रहरी कार्यालय धादिङले मकवानपुरका अक्कलबहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई सार्वजनिक गरेको हो।
गत चैत २४ गते कँडेल आफ्नै घरको भुईं तलामा रहेको बाथरुममा घाँटीमा डोरी कसिएको अवस्थामा मृत फेला परेका थिए। प्रारम्भिक अनुसन्धानमा कँडेलले आफ्नै श्रीमती सुस्मिता सिलुराललाई मार्न अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ 'सुपारी' दिएको खुलेको छ। तर योजना असफल भएपछि कँडेलले थिङलाई दबाब दिन थालेका थिए। आफ्नो काम नभएपछि कँडेल थिङसँग रिसाए ।
काम नभएपछि कँडेलले थिङलाई छिटो काम गर्न अन्यथा रकम फिर्ता गर्न दबाब दिएको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ । सोही रिसले उनीहरूले कँडेलकै हत्या गरेका हुन्।
प्रजालाई वैशाख ३ गते डुँडेठाँटीबाट र थिङ तथा मुक्तानलाई वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट हत्या गर्दा प्रयोग गरिएको डोरी, कोदालो, मृतकको मोबाइलको टुक्रा, र सुपारीका लागि दिइएको रकमसमेत बरामद गरिएको छ।
तीनैजनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया