काठमाडौँ : करिब महिना दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको दबाबमा रहेको राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्रता दिएको छ । शिक्षक आन्दोलनका क्रममा छुटेको कामलाई पूर्ति गर्ने गरी बोर्डले काम गरिरहेको छ ।
बोर्डका अनुसार मुलुकभरका ५० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । जसमध्ये काठमाडौँ, भक्तपुर र ललितपुरमा एकरएक वटा केन्द्र छन् । यस पटक पाँच लाख १४ हजार थान उत्तरपुस्तिका परीक्षण गर्नु पर्छ । समयको दबाबका कारण उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षक सङ्ख्या पनि बढाइएको छ ।
विगतमा दैनिक अधिकतम १० हजार जना शिक्षक उत्तरपुस्तिका परीक्षणमा सक्रिय हुने गरेकामा अहिले दैनिक न्यूनतम १५ हजार शिक्षक परिचालन गरिएको छ ।
परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण गर्न यस पटक विगतका भन्दा धेरै शिक्षकलाई अभिमुखीकरण पनि गराइएको थियो । एक जना शिक्षकले दैनिक एक सयको हाराहारीमा उत्तरपुस्तिका परीक्षण गर्ने गरेका छन् ।
बोर्डको आग्रह अनुसार केही जिल्लामा त रातको समयमा पनि उत्तरपुस्तिका परीक्षण हुने गरेको छ । भक्तपुरको केन्द्रमा बिहान ४ बजेदेखि स्कुल नखुल्दासम्म र साँझ विद्यालय बन्द भएपछि राति ११ बजेसम्म पनि उत्तरपुस्तिका परीक्षण गर्ने गरिएको छ ।
“शिक्षकहरू दिउँसोको समयमा पढाउन जानुपर्ने भएकाले बिहानबेलुकाको समय पारेर उत्तरपुस्तिका परीक्षण गर्ने गरिएको हो,” भट्टराईले भन्नुभयो, “भर्खरै आन्दोलनबाट फर्किएका कारण शिक्षकलाई विद्यालयबाट छुटाउन पनि मिल्दैन । आन्दोलन नभइदिएको भए यतिखेर उत्तरपुस्तिका परीक्षण कार्य सकिसक्थ्यो ।”
भट्टराईले भन्नुभयो, “अवस्था सामान्य भएको भए उत्तरपुस्तिका परीक्षणका बेला शैक्षिक सत्र सकिएर बिदा भएको समय हुन्थ्यो, अहिले विद्यालय खुलेको समय भएकाले शिक्षकले पनि अतिरिक्त समयमा काम गर्नुपर्ने भएको छ ।”
उत्तरपुस्तिका परीक्षण भइरहेको सबै जसो केन्द्रलाई अनुरोध गर्दै हरेक दिनको उत्तरपुस्तिका परीक्षणको अपडेट लिने गरिएको छ । सबै जसो जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा उत्तरपुस्तिका परीक्षण हुने गरेको छ । परीक्षा नियन्त्रक भट्टराईका अनुसार मुलुकभरि औसतमा ३० प्रतिशत उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । केही जिल्लामा भने ६० प्रतिशतसम्म काम सकिएको पनि उहाँले बताउनुभयो ।
नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँकेन्द्रित सडक प्रदर्शनका कारण उत्तरपुस्तिका परीक्षणको काम झन्डै एक महिना ढिलो गरी सुरु भएको हो । शिक्षकहरू गत चैत २० गतेदेखि वैशाख १७ गतेसम्म आन्दोलनमा थिए ।
१७ गते बुधबार शिक्षक र सरकारबिच सहमति भएपछि केही केन्द्रमा शुक्रबारबाट तथा अन्यमा गत शनिबारदेखि शिक्षकले उत्तरपुस्तिका परीक्षण सुरु गरेका हुन् । बोर्डले यसअघि परीक्षा सकिएको तीन महिनामा नतिजा निकाल्ने योजना बनाएको थियो । योजना अनुसार कापी परीक्षणको काम सुरु हुन्थ्यो भने असार ७ गते आसपासमा नतिजा सार्वजनिक गर्ने कार्यतालिका तयार गरेको थियो ।
बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण सकिएपछि नतिजा प्रकाशनसम्बन्धी कामका लागि थप एक महिना लाग्छ तर जनशक्तिको समस्याले पनि नतिजा प्रकाशन कार्य प्रभावित हुने गरेको छ । बोर्डमा विशेष गरी प्राविधिक जनशक्तिको अभाव छ ।
आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया