सल्लेरी / सोलुखुम्बुमा आफ्नै शरीरमा आगो लगाएकी एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिका–५ घर भइ खुम्बुपासाङल्हामु गाउँपालिका–२ लुक्लाका डेण्डी शेर्पाको घरमा डेरा गरेर बस्ने १६ वर्षीया सकुन्तला तामाङले केही दिनअघि आफ्नै शरीरमा आगो लगाएकी थिइन् ।
उनले २०७९ चैत २६ गते राति १०ः३० बजेतिर आफ्नै शरीरमा आगो लगाएकी हुन् । तत्काल उद्धार गरेर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । उपचारका क्रममा सोमबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । छोरी जलिरहेको देखेपछि आगो निभाउन गएकी सकुन्तलाकी आमा पनि आगोले पोलेर घाइते भएकी थिइन् ।
आमा र छोरीलाई नै उपचारका लागि काठमाडौं लगिएको थियो । आगोले जलेर सामान्य अवस्थाकी आमाको उपचार जारी छ । टिचिङ अस्पतालमा पोस्टमार्टम गरेर सकुन्तलाको शवलाई परिवारको जिम्मा लगाइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।प्रहरीका अनुसार किशोरीले आफ्नै शरीरमा आगो लगाउनुको कारण हालसम्म पत्ता लागेको छैन ।
Discussion about this post