विराटनगर । भारतसँग सीमा जोडिएका कोसी प्रदेशका सिमावर्ती क्षेत्रमा तस्करहरु सलबलाउन थालेका छन् । खुला सीमाका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बनिरहेका बेला भन्सार छली गरेर अवैध सामानको ओसारपसार गरिरहेका तस्करहरु सलबलाउन थालेपछि नेपाल प्रहरी कडा रूपमा प्रस्तुत हुन थालेको छ ।
नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गरेर प्रहरीले तस्करी नियन्त्रण गर्न विशेष ‘अप्रेशन’ नै चलाएको छ । विभिन्न निकायसँगको समन्वयमा सक्रिय बनेर चोरी–तस्करी नियन्त्रणका लागि प्रहरीले अभियान चलाएको हो ।
तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्र लक्षित गर्दै नेपाल प्रहरीले गस्ती गर्न थालेको छ । तस्करीलाई निरुत्साहित गर्न विशेष कार्ययोजना बनाएरै प्रहरीले हतियारसहित नियमित गस्ती सुरु गरेपछि तस्करीमा संलग्नहरु हच्किएका छन् । पछिल्लो समय सीमा क्षेत्रबाट सामानको अवैध ओसारपसार हुन नदिन प्रहरी सक्रिय बनेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
लुकाईछिपाई तस्करी गरिएका सामान प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीका लागि राजस्व तथा भन्सार कार्यालयमा बुझाउने गरेको छ । तस्करीमा संलग्नहरु धमाधम पक्राउ परिरहेका छन् । अवैध सामान ओसारपसारमा प्रयोग गरिएका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।
खुला सीमाको फाइदा उठाउँदै भारतसँग सीमा जोडिएका कोसी प्रदेशको तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा तस्करहरु सक्रिय हुने गरेका छन् । तस्करी निरुत्साहित गर्न र तस्करीमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीको विशेष टोलीसमेत परिचालित छ । नेपाल प्रहरीका उपरीक्षक (एसपी) हरु झापामा दुर्गाराज रेग्मी, मोरङमा दीपक पोखरेल र सुनसरीमा प्रभुप्रसाद ढकालको नेतृत्वमा प्रहरी छ ।
रेग्मी, पोखरेल र ढकालले आआफ्नै हिसाबबाट तस्करी नियन्त्रणका लागि काम गरिरहेका छन् । ठाउँठाउँमा प्रहरीको विशेष टोली परिचालन गरेका छन् । सशस्त्र प्रहरीलगायतका निकायसँग समन्वय गर्दै नियमित गस्तीमा हतियारसहित प्रहरी खटाएका छन् । परिचालित प्रहरीले ठूलो परिणामको अवैध सामान बरामद गर्दै तस्करी नियन्त्रणको प्रयास गरिरहेको हो ।
झापा, मोरङ र सुनसरीका प्रहरी कार्यालयको निरीक्षण भ्रमणका क्रममा कोसी प्रदेशका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले राजस्व छली एवं तस्करी रोक्न नाकाहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । ‘सीमा क्षेत्रमा सतर्कता बढाउन कन्जुस्याइँ गर्न भएन । अवैध धन्दा रोक्ने जिम्मेवारी सुरक्षा निकायकै हो,’ निर्देशन दिँदैन उनले भने, ‘सीमा क्षेत्रलाई लक्षित गरेर २४ घण्टा नै गस्ती गर्नुपर्यो । कानुनविपरीतका गतिविधि नियन्त्रणमा कुनै सम्झौता हुन भएन ।’ प्रहरीलाई प्रतिवद्ध भएर जिम्मेवार रूपमा प्रस्तुत हुन बास्तोलाको निर्देशन छ ।
राजस्व अनुसन्धान र भन्सार कार्यालयसँग समन्वयमा प्रहरीले पछिल्लो १ वर्षको अवधिमा भन्सार छली गरिएका २६ करोड रूपैयाँभन्दा बढीका अवैध मालसामान बरामद गरेको छ । २०७९ वैशाखदेखि चैतसम्ममा तस्करीमा प्रयोग गरिएका ७६ वटा सवारीसाधन र तस्करीमा संलग्न ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तस्करीका सामान ओसारपसार गर्न तस्करले साइकल, मोटरसाइकल, अटो टेम्पो, पिकअप भ्यान, म्याजिक, ट्याक्टरलगायतका सवारीसाधन प्रयोग गर्ने गरेका छन् ।
एसएसपी बास्तोलाको निर्देशनपछि झापा, मोरङ र सुनसरीबाट २०७९ चैत महिनामा मात्रै प्रहरीले ७८ लाख ९४ हजार रूपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । उक्त अवधिमा प्रहरीले तस्करीमा संलग्न ४ जनासहित एउटा सवारीसाधन पनि नियन्त्रणमा लिएको छ । प्रहरीले तस्करीका खाद्यान्न, किराना मालसामान, खादमल, लत्ताकपडा, मोटर पार्टस्, सिमेन्ट, पेय पदार्थ, कस्मेटिक सामान, फलफूल, बिजुलीका सामान, ब्रोइलर कुखुरा, औषधि, स्वास्थ्य सामग्री, माछा तथा नेपालबाट भारततिर लैजान खोजिएका चौपाया पनि नियन्त्रणमा लिएको हो ।
प्रहरी सक्रियताले नै शान्ति सुरक्षाको अवस्था मजवुत हुने र अवैध धन्दा एवं सीमा अपराध मौलाउन नपाउनेमा बास्तोलाको जोड छ । आयातमा प्रतिबन्ध लगाइएका मालवस्तु तस्करीमार्फत भित्रिएर बजारमा छ्यापछ्याप्ती पाइनुले सुरक्षा कमजोरी देखाउने उनले बताए । बास्तोलाले सीमा क्षेत्रमा प्रहरीले अहोरात्र मिहीनेत गर्दा त्यस्ता वस्तुको अवैध आयात हुन नपाउनेमा प्रहरी चनाखो हुनुपर्ने बताए ।
‘चोरी–तस्करीलगायतका अवैध धन्दा नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्रमा निगरानी बढाउनुपर्छ,’ निर्देशन दिँदै उनले भने, ‘तस्करीमा संलग्नलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउँदै अवैध धन्दा रोक्नुपर्छ ।’ तस्करीलाई बढवा दिने र अवैध धन्दामा संलग्नसँग साँठगाठ गर्ने प्रहरीलाई कारबाही गर्ने चेतावनी उनले दिएका छन् । उनले तस्करी नियन्त्रणमा लिन सरोकारवाला सबैको सहयोग नेपाल प्रहरीले खोजिरहेको बताए ।
नेपाल–भारत सीमा क्षेत्रको अवस्था बुझ्न एसएसपी बास्तोला आफैँ अनुगमनमा निस्कने गरेका छन् । गस्ती र पेट्रोलिङलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी बलसँग पनि समन्वय गरेर संयुक्त गस्तीसमेत गर्न नेपाल प्रहरीलाई उनको निर्देशन छ । बास्तोलाले सीमा क्षेत्र, नाका र गौंडाहरुमा प्रहरीले आकस्मिक चेकजाँचको व्यवस्था मिलाएका छन् । प्रदेश प्रहरी कार्यालयले त्यसको नियमित अनुगमन गरिरहेको उनी बताउँछन् । सुरक्षा सक्रियता बिना अवैध धन्दा नियन्त्रण र शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन नसकिने बास्तोलाको बुझाइ छ ।
उनले शून्य सहनशीलता अपनाएर भन्सार छली हुने स्थानको पहिचान र निगरानी गर्दै व्यापक प्रहरी परिचालन गर्नका लागि निर्देशन दिएका छन् । तस्करी रोक्नलाई समयसमयमा आवश्यक रणनीति बनाउन राजस्व अनुसन्धान, भन्सार कार्यालय र सुरक्षा निकायको संयुक्त बैठकसमेत बस्ने गरेको छ ।
Discussion about this post