विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा रहेका छवटै राजनीतिक दलहरुलाई आफू नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
प्रदेश सभामा सहभागि छ वटा राजनीतिक दलमध्ये नेकपा (एमाले), माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजबादी पार्टी अहिलेको सरकारमा सहभागी भएपनि प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली काँग्रेस र पाँचौँ ठूलो दल नेकपा (एकीकृत समाजबादी) सरकार बाहिर रहेको चर्चा गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेका हुन् ।
मङ्गलबार ‘कोशी प्रदेश सरकारको एक सय दिने कार्य उपलब्धि विवरण’ सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमा सहभागी हुन अनुरोध गरेका हुन् ।
गत पुस २५ गते भएको उक्त सरकारले मङ्गलबार एक सय दिन पुरो गरेको छ ।
मुख्यमन्त्री कार्कीले जहिलेसम्म बहुमत आउँदैन तव सम्म दलहरु सँगै मिलेर जाने संस्कृतिको विकास गर्न पनि अनुरोध गरे ।
२०७९ मङ्सिर ४ गतेको निर्वाचनको परिणामपछि सङ्केत मुलुकमा राजनीतिक स्थायित्वको सम्भावाना नदेखिएको दृष्टान्त प्रस्तुत गर्दै राजनीतिक पार्टीको केन्द्रीय नेतृत्वमा समीकरण परिवर्तन भएको र कोशी प्रदेशबाहेक कुनै पनि प्रदेश सरकारले सय दिन व्यतीत गर्ने मौका नपाएको बताए ।
उनले कोशी प्रदेशको सरकारको भविष्य पनि के हुन्छ भनेर विभिन्न अड्कलवाजीहरु भइरहेको स्मरण गराउँदै तर कोशी प्रदेशमा भने सरकारमा सहभागि दलहरु एकमतका साथ अघि बढिरहेको दाबी गरे ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले एक सय दिनमा आफ्नो नेतृत्वको सरकारले गरेका महत्वपूण कामको बारेमा जानकारी गराएका थिए ।
Discussion about this post