इटहरी । लामो समय देखि विवाद झेल्दै आएको दुहबी स्थित ६ लेन सडक क्षेत्रमा डोजर चलाउन सुरु गरिएको छ । दुहबी नगरपालिकाले आज देखि एक साथ १० वटा डोजर चलाएर ६ लेन सडकमा पर्ने घर संरचना हटाउन थालेको हो ।
अन्य स्थानमा सडकले तीव्रता पाए पनि दुहबी बजारको २ किलोमिटर सडक के गर्ने अन्योल रहेका बेला नगरपालिकाले डोजर लगाएर संरचना धमाधम भत्काउन थालेको नगर प्रमुख वेद गच्छदारले बताए । मुख्य बजारको दुई मिलोमिटर मध्ये विल टप एरियाको ६३० मिटर बाहेकको संरचना हटाइएको हो ।
नगरपालिकाले ३ महिना अगाडी घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि स्थानीयले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । हिजो (सोमबार) उच्च अदालत विराटनगरले निषेधाज्ञाको अन्तरिम आदेश खारेज गरेपछि राष्ट्रिय गौरवको आयोजना बनाउने बाटो खुलेको छ ।
रानी विराटनगर इटहरी धरान सडक खण्ड मध्ये सुनसरीका दुहबी, इटहरी र धरानमा मापदण्ड अनुसार निर्माण हुन सकेको छैन । इटहरीमा केही समय अघि सडक क्षेत्राधिकारमा पर्ने संरचनामाथि पनि डोजर चलाइएको थियो । अहिले दुहबीले पनि सोही अनुसार संरचना हटाउन थालेपछि ६ लेन सडकले गति लिने आस पलाएको छ । आयोजनाको मिति आगामी असार मसान्तमा सकिँदै छ ।
Discussion about this post