विराटनगर । ट्याक्टरको प्रयोग गरेर अवैध हिसाबले नेपाल भित्राइएको गहुँ सुनसरी प्रहरीले सोमबार राति बरामद गरेको छ ।
भारतबाट भन्सार छली गरेर ल्याइएको सय बोरा गहुँ सुनसरीको देवानगन्ज गाउँपालिका–३ बाट बरामद गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।
उनका अनुसार प्रदेश १–०४–००१ त ७१५ नम्बरको ट्याक्टरमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा तस्करीको गहुँ फेला पारिएको थियो । नेपाल–भारत सीमा क्षेत्रबाट राति ८ बजेतिर ५ हजार ४ सय १ किलो गहुँ बरामद भएको जानकारी राईले दिए ।
सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले गहुँ तस्करी भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन टोली परिचालन गरेका थिए । एसपी ढकालले परिचालन गरेको टोलीले गहुँ फेला पारे पनि प्रहरीलाई देख्नासाथ तस्करीमा संलग्नहरु ट्याक्टर छाडेर फरार बने ।
डीएसपी राईका अनुसार नियन्त्रणमा लिइएको ट्याक्टर र गहुँ आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार सेतुबन्द भन्सार कार्यालयमा बुझाइएको छ । फरार रहेका चालकको खोजी तीव्र पारेर ट्याक्टर धनी पत्ता लगाउने प्रयास भइरहेको उनको भनाइ छ । प्रहरीले गहुँ तस्करीका सम्बन्धमा थप अनुसन्धान थालेको छ । प्रहरीका अनुसार ट्याक्टरसहित गहुँ १५ लाख १६ हजार ४० रूपैयाँ बराबरको छ ।
कोसी प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले तस्करी नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाउन निर्देशन दिएसँगै विभिन्न नाकामा प्रहरी सक्रियता बढाइएको छ । एसएसपी बास्तोलाको निर्देशनसँगै एसपी ढकालले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा गस्तीका लागि विशेष टोली खटाएका छन् । इन्सपेक्टर सुदीप कार्कीको नेतृत्वमा पैदल गस्ती गर्न हतियारसहितको प्रहरी टोली परिचालन गरिएको हो ।
टोलीले भारतसँग सीमा जोडिएको सुनसरीको कोसी ब्यारेजदेखि अमडुवासम्मको क्षेत्रमा नियमित गस्ती गर्ने छ । भारतसँग सुनसरीको खुला सीमा ६१.९ किलोमिटर छ । डीएसपी राईका अनुसार हतियारसहितको प्रहरी टोलीले सीमा क्षेत्रलाई निगरानीमा राख्ने, दशगजाको वस्तुस्थिति बुझ्ने, सीमा अपराध तथा विभिन्न अपराधिक गतिविधि नियन्त्रणमा भूमिका खेल्ने एवं चोरी–तस्करी रोक्नलाई काम गर्ने छ ।
Discussion about this post