प्रदेश सरकार फेरिने चर्चा हुुनासाथ नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाको चर्चा आइहाल्छ । केन्द्रीय समीकरणमा फेरबदल आएदेखि नै प्रदेश सरकारहरु फेरिने क्रम चलिरहेको छ । कतिपय प्रदेश सरकारमा रहेका दलहरु बाहिरिएका छन् ।
कोशी प्रदेश सरकार पनि फेरिने चर्चा व्यापक बनेको छ । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार परिवर्तन हुँदा कसको नेतृत्वमा सरकार बन्ला भन्ने आम चासोको विषय बनेको छ ।
यही सन्दर्भमा नेपाली कांग्रेस संसदीय दलका नेता थापासँग प्रदेश खबरका लागि पवन अधिकारीले संवाद गरेका छन् । कुराकानीका क्रममा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आयो भने आफू नै मुख्यमन्त्री बन्ने थापाले बताएका छन् ।
अरु कुनै दलका नेताको नेतृत्वमा सरकार बन्ने अवस्था आएको अवस्थामा भने अरु साथीहरुलाई मन्त्री बनाएर पठाउने उनको भनाइ छ ।
प्रदेश सरकारको नेतृत्व र समीकरण फेरिने चर्चा छ, के हुँदैछ ?
अहिले तत्काल त्यस्तो छैन । तीनवटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ । त्यतातिर ध्यान छ अहिले । त्यसैगरी संघीय सरकारलाई पूर्णता दिने कुरा पनि छ । पार्टीको केन्द्रीय नेतृत्व त्यसको तयारीमा छ । त्यसैले अहिले प्रदेश सरकारतिर उति धेरै ध्यान जान पाएको छैन । तर प्रदेश तहमा र केन्द्रीय तहका नेताहरुसँग पनि छलफल र कुराकानी भने भइरहेको छ ।
अब १० गते उपनिर्वाचन भइसकेपछि प्रदेशको कुरा, नयाँ सरकार गठनको कुरामा छलफल होला । त्यसपछि प्रक्रिया सुरु हुन्छ ।
अबको मुख्यमन्त्री को हुन्छ ?
गठबन्धनको सरकार बन्छ । आलोपालो काम गर्ने गरी सरकार बन्ने हो । मुख्य मन्त्री को बन्छ भन्ने अहिले नै यकिन छैन । हामीले हामी नै हुन्छौं वा माओवादीले हामी बन्छौं, समाजवादीले आफ्नै कुरा होला तर यस्तो हुँदैन । केन्द्रीय तहमा जसरी शीर्ष नेताहरुले आलोपालो गरिकन सहमति गर्नुहुन्छ, त्यसैअनुसार सबै प्रदेशमा मुख्यमन्त्री हुने कुरा हो । सरकारको नेतृत्व कसले गर्छ भन्ने कुरा शीर्ष नेताहरुको निर्णयमा भर पर्नेछ ।
कोशी प्रदेशमा नेकपा समाजवादीले पनि सरकारको नेतृत्व मागिरहेको छ भन्ने कुरा आएको छ, तपाईंको पनि दाबी होला, यसमा के छ…
त्यो स्वाभाविक हो । सबै दलले आफ्नो नेतृत्व हुनुपर्छ भन्ने गरेकै छन् । यसमा कांग्रेसको पनि दाबी हुने नै भयो । माओवादीले पनि दाबी गरिरहेको छ, यो स्वाभाविक कुरा हो । तर यसको निर्णय चाहिँ शीर्ष नेताहरुको बैठकबाटै हुनेछ ।
जहाँसम्म राप्रपाको कुरा छ, उनीहरुको नेतृत्वको कुरालाई हल्ला चलाइएको छ । हाम्रो पार्टीभित्र पनि र अरु पार्टीमा पनि यो हल्ला चलेको र चलाइएको हो । तर हामीले हामी नै बसेर प्रदेशको निर्णय गर्न सक्दैनौं । गरिहाले पनि हाम्रो त्यो निर्णय भोलि कार्यान्वयन हुन सक्दैन ।
कांग्रेसमा पनि मुख्यमन्त्रीका आकांक्षीका रुपमा केही नेताको चर्चा सुनिन्छ नि ?
कांग्रेस संसदीय दलको विधानमा के व्यवस्था छ भन्ने अध्ययन गर्नुपर्छ । त्यसमा स्पष्ट व्यवस्था छ, जो संसदीय दलको नेता छ, उनी मुख्यमन्त्री वा केन्द्रमा प्रधानमन्त्री बन्ने व्यवस्था छ । यो नियम व्यवस्थित छ । तर बाहिर अनेक खाले हल्ला चलेको छ । मलाई पनि कतिपयले सोधिरहेका छन् । अरु को मुख्यमन्त्री बन्ने रे, भन्ने हल्लाबारे मलाई सोधिन्छ । तर स्पष्ट कुरा के हो भने, मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनैपर्छ ।
को को साथीहरु दलको नेताभन्दा बाहिरबाट मुख्यमन्त्री हुने भन्ने चर्चा चलाइरहनु भएको छ, उहाँहरुको त्यो दिवास्पप्नमात्र हुनेछ । मबाहेक अरु कुनै साथीलाई मुख्यमन्त्री बनाउनुपर्ने अवस्था आयो भने, सुरुमा दलको नेता बनाउनुपर्यो । यो सबै विधि र विधानअनुसार हुने कुरा हो ।
सरकारको नेतृत्व गर्नुपर्ने पालो नेपाली कांग्रेसको आयो भने म मुख्यमन्त्री बनेर जाने हो । अरु कुनै मन्त्री बन्ने कुरा होइन । अरुको नेतृत्वमा सरकार बन्ने हुँदा म हाम्रा साथीहरुलाई मन्त्री बनाएर पठाउँछु । अरु दलका साथीहरुको नेतृत्व रहेको अवस्थामा साथीहरु मन्त्री बन्न सक्छन्, म मन्त्री बनेर जाने होइन ।
Discussion about this post