काठमाडौं । यूएईमा कार्यरत एक नेपालीलाई ७१ करोड रुपैयाँ भन्दा बढीको चिट्ठा परेको छ ।
यूएईमा ड्राइभरको रूपमा कार्यरत नेपाली नागरिक पदमले महजुज राफल ड्र मार्फत २० मिलियन दिराम अर्थात् (करिब ७१ करोड ७७ लाख ८२ हजार ४९६ रुपैयाँ) बराबरको चिट्ठा जितेको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
उनले मिलाएको नम्बर ५, १०, ४१, ४६ र ४९ रहेको जनाइएको छ । सन् २०२३ मा पाँचै नम्बर मिलाएर पहिलो ठूलो चिट्ठा जित्ने पदम पहिलो सहभागी बनेका हुन् ।
पदमले यूएईमा गाडी चलाएर ५७ सय दिराम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका थिए ।
उनी २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा काम गरिरहेका छन् ।
उनले पहिलो लक्की नम्बर आफ्नो श्रीमती र छोरीसँग सोधेर राखेको र त्यसपछिको अर्को नम्बर आफैले राखेको बताए ।
पदमले आफूले मेहनत गरेर कमाएको रकमबाट असहाय र पीडित व्यक्तिहरूलाई सहयोग गरेको भन्दै अब झन् सहयोग गर्न आफूसँग पैसा भएको भन्दै खुसी व्यक्त गरे ।
पदमको नेपालको ठेगाना र थर भने सार्वजनिक गरिएको छैन । यसअघि गुल्मीका भरत विकले पनि महजुजको लक्की ड्रमार्फत झण्डै ३५ करोड रुपैयाँको चिट्ठा जितेका थिए।
Discussion about this post