प्रकाश तिम्सिना
इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले वडाध्यक्षहरुलाई ‘असक्षम’ भन्दै राजीनामा दिएर बाटो प्रशस्त गर्न अनुरोध गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै उनले यस्तो अनुरोध गरेका हुन् ।
वडाहरुमा के कस्ता योजना तथा कार्यक्रमहरु सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई लिएर असहमति राखिरहन पर्ने कुनै कारण नभएको भन्दै मेयरले उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकाले वडाहरुमा के कस्ता, के कति काम भएका छन् तुरुन्तै सार्वजनिक गर्न यही विज्ञप्ति मार्फत् निर्देशन दिन्छु भनेका छन् ।
बैठक बहिष्कार गरेको कुराप्रति मेयरले असन्तुष्टि पोखेका छन् । ‘कसैले म बैठक बस्दिन भन्न पाइँदैन, त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाइ आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ उनले विज्ञप्तिमा भनेका छन् ।
कानुन हातमा लिएर काम गरेको भन्दै मेयर राईको कार्यशैलीप्रति असन्तुष्ट बनेका वडाध्यक्षहरुले विरोध गर्दै आएका छन् ।
मेयर राईले कानुन हातमा लिएर काम गर्ने तथा वडा अध्यक्षलाई अपमान गर्ने गरेको भन्दै २० वटै वडाका वडाध्यक्षहरु हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका छन् ।
मेयर राई सच्चिनु पर्ने भन्दै ५ बुँदे माग अघि सारेर उनीहरु आन्दोलित छन् । मेयर राईको कार्यप्रति कार्यपालिका सदस्य मात्रै हैन, धरानमा क्रियाशील नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा अन्य ७ राजनीतिक दलले समेत विरोध गरिरहेका छन् ।
यसअघि विज्ञप्ति जारी गरेर उनीहरुले मेयर राईको कार्यशैलीको विरोध गरेका थिए । उनीहरुले सेवाग्राही सन्तोष लिम्बूलाई गरेको व्यवहारबारे मेयर राईले माफी माग्नुपर्ने, स्वकीय सचिव सुदर्शन लिम्बूलाई कारबाही गर्नुपर्ने तथा वडाअध्यक्षलाई पठाएको स्पष्टीकरण पत्र फिर्ता लिनुपर्नेजस्ता मागहरु राखेका छन् ।
यस्तो छ, मेयरद्वारा जारी विज्ञप्ति–
पटक पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनुपर्ने अधिकारमाथि खेलवाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेका अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु ।
वडाहरुमा के कस्ता योजना तथा कार्यक्रमहरु सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहन पर्ने कुनै कारण नभएको तर उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकाले वडाहरुमा के कस्ता, के कति काम भएका छन् तुरुन्तै सार्वजनिक गर्न यही विज्ञप्ति मार्फत् निर्देशन दिन्छु ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ (कार्यविभाजन र कार्य सम्पादन) को उपधारा ४ क (नगर प्रमुखको काम, कर्तव्य र अधिकार) को ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गर्दै जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषाशैली प्रयोग गर्ने, भाँडभैलो मचाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नुपर्ने कुनै कारण छैन साथै धरान उपमहानगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको हुँ ।
सोही धाराको उपधारा २ मा दिएको बैठक अध्यक्षको आसनको सम्मान र आदर गर्नु कार्यपालिका सदस्यको कर्तव्य रहने भनिएकाले कार्यपालिकाको अध्यक्षता गरिरहेको नगर प्रमुखको सामुन्ने अवज्ञा गर्दै भाँडभैलो गर्नु वियिधको उल्लंघन गर्नु हो । बैठकमा के एजेन्डामा बोल्ने र कसले कति समयमा बोल्ने भन्ने कुराको निर्णय बैठकको अध्यक्षले गर्नेछ भनी सोही कार्यविधिको सोही दफाको उपदफा ३ र ४ मा दिइएको अधिकार प्रयोग गरी धेरै नबोल्नु समय सकियो भन्दा ‘बोल्छु के गर्छस्’ भन्दै उफ्रनुले त्यस्ता सदस्यहरुको स्पष्टीकरण माग्नैपर्ने देखिन्छ ।
‘देश र जनताको सेवा गर्छु । आफ्नो कर्तव्य पूरा गर्छु । कुनै पार्टी, जाति, धर्म, वर्ग, क्षेत्रभन्दा माथि उठेर काम गर्छु’ भनी खाएको सपथ बिर्सेर पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मान्ने र जनताको विकासका कामहरु गर्न गराउन निर्णय गर्नुपर्ने महत्वपूर्ण बैठकलाई बहिष्कार गर्नेहरुप्रति खेद प्रकट गर्दछु ।
स्थानीय शासन सञ्चालन ऐन २०७४ को धारा १६ उपधारा ४ को घ (वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको काम, कर्तव्य र अधिकार) को १ अनुसारको कर्तव्य पूरा नगरेको देखिएकाले तुरुन्तै सच्चिएर बैठकमा उपस्थित हुन आह्वान गर्दछु ।
हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन, यो बाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु ।
कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन, त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाइ आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।
Discussion about this post