प्रतिनिधिसभा र प्रदेशसभातर्फको मत गणना सम्पन्न भएसँगै सरकार गठनका लागि आवश्यक समीकरणको जोडघटाउ सुरु हुन थालेको छ । सोही अनुसार प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नुपर्ने बाध्यता छ । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा ५६ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने समानुपातिकबाट ३७ सदस्य निर्वाचित हुने व्यवस्था छ । यहाँ प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्दछ ।
प्रदेश नम्बर १ मा समानुपातिक तर्फ १८ लाख ९९ हजार १४४ मत गणना भएको छ । जस अनुसार समानुपातिकतर्फ यो प्रदेशमा ठूलो दल बन्दै एमालेले १४ सिट ल्याउने देखिएको छ । प्रत्यक्षमा एमालेले २५ सिट ल्याएको छ । एमाले प्रत्यक्ष र समानुपातिक गरी ३९ सिट हाराहारी सहित पहिलो पार्टी बनेको छ ।
प्रत्यक्षमा १७ सिट पाएको कांग्रेसले समानुपातिकमा १२ सिट पाउने देखिन्छ । यस आधारमा २९ सिटसहित कांग्रेस दोस्रो दल बन्दैछ । प्रत्यक्षमा ९ सिट पाएको माओवादीले समानुपातिकमा ४ सिट पाउने अवस्था छ । जसको आधारमा माओवादी केन्द्रले प्रदेशसभामा १३ सिट पाउने देखिन्छ ।
प्रत्यक्षमा २ सिट पाएको राप्रपाले समानुपातिकमा ४ सिट पाउने सम्भावना छ । यस आधारमा उसको जम्मा ६ सिट हुने देखिन्छ । यस्तै, प्रत्यक्षमा एउटा पनि सिट नजितेको जसपाले समानुपातिकमा २ सिट र प्रत्यक्षमा ३ सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा १ सिट पाउने देखिन्छ ।
प्रदेश १ मा सरकार गठनका लागि एमालेले पनि कृयासिलता देखाइरहेको छ । सत्तारुढ गठबन्धन पनि पछि हट्ने पक्षमा छैन । प्रदेश १ मा एमाले गठबन्धनको महुमत भएका कारण यदी एमाले नेतृत्वको गठबन्धन कायम रहेमा एमालेको नेतृत्वमा प्रदेश सरकार गठन हुने छ । राप्रपाको ६ र जसपाको २ सांसदको समर्थनमा एमालेले बहुमत पुर्याउन सक्छ । तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य सकिएको बताएपछि एमाले नेतृत्वको सरकार बन्न बाधा पुग्न सक्ने देखिएको छ ।
सत्तारुढ गठबन्धनले पनि सरकार गठनका लागि पहल गरिरहेको छ । सत्ता गठबन्धनमा कांग्रेसको २९, माओवादी केन्द्रको १३ र नेकपा एकीकृत समाजवादीको ४ गरी जम्मा ४६ सिट हुन्छ । दुई सिटसहितको जसपालाई साथ लिन सके कांग्रेस नेतृत्व कै सरकार बन्न सक्ने देखिन्छ । यसरी हेर्दा दुबै पक्षको सरकार बन्नका लागि जसपा निर्णायक बन्ने देखिएको छ ।
Discussion about this post