इटहरी । सुनसरीको इटहरीमा व्यावसायिक पूर्वाधार थपिने क्रम जारी छ ।
विभिन्न सभा, समारोह आयोजना गर्न सहज र सरल हुने अर्को पार्टी प्यालेस (बेंक्वेट) एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ ।
एरिना ग्रुप अफ कम्पनीले इटहरी उपमहानगरपालिका वडा १२ विराटनगर लाइनमा १२ करोड रुपैयाँ लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याएको हो ।
प्यालेसका प्रबन्धक तथा उद्यमी समिर कार्कीका अनुसार एरिना ग्रुप अफ कम्पनीबाट विभिन्न व्यवसायहरु सञ्चालन हुँदै आएका छन् ।
उद्यमी कार्कीले सञ्चार, यातायात, विद्यालयका छात्रा लक्षित सेनिटरी प्याड हुँदै अहिले पार्टी प्यालेस सञ्चालनमा ल्याएको बताएका छन् ।
आगामी दिनमा एरिना ग्रुपले होटलमा समेत लगानी गर्ने प्रबन्धक कार्कीले बताए ।
जन्मोत्सव, वैवाहिक कार्यक्रम, सभा, सम्मेलन, सेमिनार, गोष्ठी, तालिमलगायत कार्यक्रमका लागि उक्त पार्टी प्यालेस सुविधायुक्त रहेको जनाइएको छ ।
२९ हजार स्क्वायर फिट क्षेत्रफलमा तीनवटा सुविधासम्पन्न हल बनाइएको छ । त्यसमा २ हजारभन्दा बढी मानिसलाई सहज रुपमा व्यवस्थापन गर्न सकिने कार्कीले बताए ।
Discussion about this post