उद्वव थापा
अहिलेको प्रदेशसभालाई नाम दिनु बाध्यता नै थियो । अघिल्लो प्रदेशसभाले नाम दिन सकेन । बेनामे अवस्थामै अघिल्लो प्रदेशसभाले समय सक्यो । दोस्रो कार्यकालमा नाम दिनैपर्ने अवस्था आयो । कुनै पनि अवस्थामा नामकरणको विषय टुंग्याउनुपर्ने बाध्यता थियो । सात प्रदेशमध्ये ६ वटाले टुंग्याइसकेको अवस्था र हाम्रो प्रदेश बेनामे भइरहेको अवस्था थियो । हामी सांसदहरु कुनै कार्यक्रमतिर जाँदा नाम राख्न सकेनन्, बेनामे प्रदेशका माननीयहरु भन्दै व्यापक आलोचना हुने गरेको थियो । त्यसैले पनि नाम राख्नुपर्ने दबाब बढेको थियो ।
नामहरु धेरै आए, कोशी प्रदेश, कोशी किराँत प्रदेश, कोशी किराँत लिम्बुवान, कोचिला.. धेरै नाम आए । तर एउटा नाममा टुंगो त गर्नुपर्यो । पहिचानवादी साथीहरुकै तर्फबाट पनि अनेक खालका नाम आए । हामीले एउटै नाम लिएर आउनुहोस् भन्यौं तर उहाँहरुले एउटै नाम लिएर आउन सक्नुभएन । तर नाम कुनै न कुनै दिनुपर्ने थियो, त्यसैले कोशी नाम रहेको हो ।
नाममा धेरै असहमति भयो, परिवर्तन गर्नुपर्यो भने संविधानमा व्यवस्था छ । संवैधानिक बाटोबाट भोलि नाम परिवर्तन गर्दा भइहाल्छ ।
जे भए पनि अहिले प्रदेशले नाम पाएको छ । कोशी प्रदेश नराम्रो नाम पनि त होइन । तर पनि पहिचानवादी साथीहरुको यसमा विरोध छ ।
उहाँहरुले विरोध गर्न पाउनुहुन्छ । नाममा असहमति राख्न पाउनुहुन्छ । अहिलेको हाम्रो संविधान विश्वकै उत्कृष्ट संविधान भन्छौं तर यो संविधानप्रति पनि मधेशको विरोध नै छ । कतिपय दलहरुले आलोचनात्मक समर्थन मात्र गरेको अवस्था पनि छ ।
पहिचानवादी साथीहरु, जो संसदमा प्रतिनिधित्व गरिरहनु भएको छ, उहाँहरुले कि त नाम दिनुपर्यो । होइन, नाम नदिने हो भने विकल्प के त ? नाम नदिने हो भने त हामीसँग विकल्पै छैन । त्यसैले आलोचनात्मक समर्थन गरेर भए पनि नाम, कतिपयले आफ्ना फरक मत संसदमा राखेर भए पनि नाम जुराइएको हो ।
संसदको नाम परिवर्तन गर्ने भन्ने बाटो अब संसदको दुई तिहाइ बहुमत नै हो । त्यहाँसम्म जानका लागि हामी, नेपाली कांग्रेसलाई त कुनै आपत्ति छैन । हामी पहिचानको मुद्दा खास बोक्दैनौँ पनि । पहिचानको विरोधी हामी होइनौं पनि । नाममा हाम्रो केही आपत्ति छैन । नाम जे भए पनि हुन्छ । फेरि पनि अहिले राखिसकिएको नामलाई परिवर्तन गर्नुछ भने यसलाई शान्तिपूर्ण तरिकाबाट, वार्ता र संवादबाट छलफल गरेर सदनको दुई तिहाइ मत जुटाएर संशोधन गर्ने कुरामा हाम्रो आपत्ति छैन ।
जो अहिले पहिचानको पक्षमा सडकमा जो हुनुहुन्छ, हाम्रै साथीभाइ हुनुहुन्छ । हामीले उहाँहरुसँग भेटघाट पनि गरिसकेका छौं । उहाँहरुले हामीलाई ज्ञापनपत्र पनि दिनुभएको छ । हामीले उहाँहरुलाई के भनेका छौं भने, तपाईंहरुको आन्दोलन जायज छ, स्वाभाविक हो । संविधानसम्मत छ, कानुनअनुसार नै छ । तर आन्दोलन व्यक्तिलाई लक्षित गर्ने अनि द्वन्द्व भड्किने, आन्दोलनको नामबाट हिंसा भड्किने जस्ता गतिविधिहरु चाहिँ उहाँहरुबाट नहोस् भन्ने हाम्रो भनाइ हो ।
पहिचानको पक्षमा नजाने भन्ने होइन, आफ्ना कुरा नराख्ने भन्ने हुँदै होइन तर शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न सकिन्छ । उहाँहरुलाई हाम्रो यही आग्रह छ ।
आन्दोलन भइरहेका बेला धमिलो पानीमा माछा मार्ने तत्वहरु सक्रिय भएका छन् । उनीहरुको प्रवेश भएको छ । यो प्रष्ट छ । कतिपय पक्षले संघीयता खारेजीको कुरा उठाइरहेका छन् । प्रदेश खारेजीको कुरा उठाइरहेका छन् । त्यस्ता तत्वहरु अहिलेको आन्दोलनमा प्रवेश गरेर आन्दोलनलाई भड्काएर आन्दोलनको गन्तव्यलाई नै परिवर्तन गराइदिने खालको खेल पनि भइरहेको छ । यस्तो खेलबाट आन्दोलनकारी साथीहरु जोगिनुपर्छ । त्यसैले आन्दोलन शान्तिपूर्ण हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।
–नेपाली कांग्रेस, कोशी प्रदेश संसदीय दलका नेता तथा पार्टीको प्रदेश समिति सभापति थापासँग गरिएको कुराकानीमा आधारित
Discussion about this post