विराटनगर । गृह मन्त्रालयले डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बाँस्तोलालाई कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ ।
गृह मन्त्रालयको वैशाख ६ गतेको निर्णयअनुसार बाँस्तोलासहित नेपाल प्रहरीका १३ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) हरु डीआईजीमा बढुवा भएका थिए ।
सरकारले बढुवा भएका सबैको बुधबार पदस्थापन गरेको छ । त्यसक्रममा बाँस्तोलाले शान्ति सुरक्षाका हिसाबले चुनौतीपूर्ण मानिने १४ जिल्ला रहेको कोसी प्रदेशको नेतृत्व गर्ने अवसर पाएका हुन् ।
डीआईजी बाँस्तोला नेपाल प्रहरीभित्र काबिल, निष्ठावान, इमान्दार र कर्तव्यनिष्ठ छवि बनाएका प्रहरी अधिकृत हुन् ।
सरकारले प्रदेश प्रहरी प्रमुख तोकेलगत्तै बुधबार उनले प्रदेशको वार्षिक कार्यसम्पादन सम्झौताको समीक्षा गरेका छन् ।
भर्चुअल माध्यमबाट भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको कार्यप्रगति विवरणको समीक्षा गरिएको हो ।
प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यलय प्रमुखबीच आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता यसअघि नै भएको थियो ।
समीक्षा कार्यक्रममा प्रदेशभित्रका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरुले आआफ्ना कार्यालयमार्फत साउनदेखि चैत समान्तसम्म सम्पादन गरेका कार्यहरुको विवरण डीआईजी बाँस्तोलासमक्ष प्रस्तुत गरेका छन् ।
कार्यक्रमका लागि प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, प्रदेश प्रहरी गण रानी विराटनगर, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रदेश प्रहरी कार्यालयमै उपस्थित भएका थिए ।
अन्य प्रहरी कार्यालयका प्रमुखहरुले भर्चुअल माध्यमबाटै कार्यप्रगति विवरणको जानकारी गराएका हुन् । कोसी प्रदेश प्रहरी कार्यालयको प्रगति विवरण इन्सपेक्टर (प्रहरी निरीक्षक) महेश भट्टराईले प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी बाँस्तोलाले कार्यसम्पादन सम्झौतालाई गम्भीर रूपमा कार्यान्वयन गर्दै लक्ष्य पूरा गर्नेतर्फ केन्द्रित हुन प्रहरी अधिकारीलाई निर्देशन दिए ।
उनले थप रचनात्मक कार्यका लागि आमनागरिकको सेवामा २४ घण्टा नै तल्लिन रही जनचाहना बमोजिम सेवा प्रदान गर्नसमेत विभिन्न प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
जनताको जीउधनको रक्षा गर्न, अपराध नियन्त्रण र अनुसन्धानमा सफलता प्राप्त गर्न, पुराना मुद्दाको फछ्र्यौटमा ध्यान दिन, दैनिक काम कारबाहीलाई चुस्त बनाउन, खुला सीमाको फाइदा उठाएर हुने सीमा अपराध नियन्त्रणमा भूमिका खेल्न, चोरी–तस्करी रोक्न, लागूऔषध तथा हतियारको अवैध धन्दा नियन्त्रण गर्न, भारतीय काउन्टर पार्टससँग समन्वय गरेर सुरक्षाको अवस्थालाई मजवुत बनाउन उनको निर्देशन छ ।
यसैबीच, डीआईजीमा बढुवा भएका अन्य १२ जनालाई पनि विभिन्न कार्यालयको जिम्मेवारीसहित बुधबार पदस्थापन गरिएको छ ।
डीआईजीमध्ये जनक भट्टराईलाई मधेस प्रदेश प्रहरी प्रमुख, भरतबहादुर बोहरालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, विष्णुकुमार केसीलाई प्रहरी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकाश निर्देशनालय, रवीन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।
त्यस्तै चन्द्रकुबेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लालमणि आचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, सुरेन्द्रप्रसाद मैनालीलाई अपराध अनुसन्धान विभाग अनुसन्धान निर्देशनालय, अर्जुन चन्द ठकुरीलाई साइबर ब्युरो, यज्ञविनोद पोखरेललाई केन्द्रीय अनुसन्धान ब्युरो, विकाशराज खनाललाई कार्य विभाग, कुवेर कडायतलाई महानिरीक्षकको सचिवालय र केदार ढकाललाई प्रशासन विभागमा पदस्थापन गरिएको छ ।
Discussion about this post