काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन् ।
काठमाडौंको नयाँबानेश्वरमा आयोजित कार्यक्रममा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए ।
‘बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति अधिवेशनबाट टुंगो लगाउनुपर्छ,’ उनले भने।
प्रत्येक दुई दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र सांगठनिक गतिविधि शुन्य हुन पुगेको नेता महरको भनाइ छ । मंसिर ४ मा आम निर्वाचन भएर वैशाख १० मा उपनिर्वाचन भइसक्दा समेत केन्द्रीय समिति बैठक बोलाउन पार्टी नेतृत्वले आवश्यक नठान्नु दुखःद उनले बताए ।
‘पार्टीलाई व्यवस्थित, समयसान्दर्भिक र परिस्कृत बनाउनका लागि पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ। अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ,’ महर भन्छन्।
पार्टीमा देखिएका कमिकमजोरीबारे गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ। ‘हाम्रासामू जनताको भावना र परिवर्तनलाई आत्मसाथ गर्नसक्ने कांग्रेस निर्माण गर्नुपर्ने चुनौति छ । यसको सामना गर्न समयानुकल रणनीति अख्तियार गर्न हामीलाई चुक्ने छुट छैन,’ महर भन्छन्।
उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्णरूपमा परिस्कृत हुनुपर्ने सन्देश दिएको उनले बताए । नागरिकको भावनानुसार काम गर्न सकेमात्रै मुलुकमा स्थायित्त्वको राजनीति गर्न सकिने महरले बताए। उपनिर्वाचनको नतिजा मूल धारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उनको भनाइ थियो।
‘मूल धारका राजनीतिक दलहरूले उपनिर्वाचनमा अपेक्षित नतिजा नल्याउनुमा आम निर्वाचनपछि बनेको बाम गठबन्धन र उनीहरूको भूमिका पनि बाधक बन्यो,’ उनी भन्छन्, ‘कांग्रेस नेतृत्वको चुनावअघिकै गठबन्धन कायम रहेको भए पनि यो अवस्था आउने थिएन। केही परिस्थितिले राजनीति फेरिन पुग्यो। त्यसले मूलधारका सबै राजनीतिक दललाई असर गर्यो।’
राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा पैदा हुँदा नवउदित शक्तिहरूलाई फाइदा पुगेको महरको बुझाइ छ। मुलुकको स्थायी राजनीतिक शक्ति मुलधारका पार्टी रहेको भन्दै कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने उनले बताए ।
‘स्थायी राजनीतिक शक्ति पनि मूलधारकै पार्टी हुन्। केही गल्ती कमजोरी पनि भएका होलान्। अब ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ,’ उनले भने।
‘हामीमा राम्रा कामको जस लिने र गलत काम भए क्षमा माग्दै सच्चिँदै जनभावना अनुसार अगाडि बढ्ने भावनाको विकास गर्ने परिपाटी बसाउँदै जानुपर्छु,’ उनले भने, ‘पछिल्लो राजनीतिक स्थितिले नीति र नेतृत्वमा बदलाब र गतिशिलता खोजेको संकेत दिएको छ । हामी यसका लागि तयार हुनुपर्छ ।’
Discussion about this post