विराटनगर । उद्योगीहरुको संस्था उद्योग संगठन मोरङमा चुनावी सरगर्मी बढेको छ । संगठनको नयाँ नेतृत्व चयन गर्ने मिति नजिकिँदै जाँदा प्रतिस्पर्धी खुल्न थालेका छन् ।
नेतृत्वका दाबेदारको कुरा बाहिर आउन थालेपछि उद्योगी व्यापारीबीचको चुनावी माहोल गर्माएको छ । नेतृत्वका लागि ३ जना दाबेदार मैदानमा देखापरेका छन् । संगठनको ५० औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । साधारणसभा यही वैशाख २८ र २९ गते आयोजना हुँदै छ ।
संगठनको नेतृत्वमा पुग्न पूर्वउपाध्यक्ष राकेश सुराना, उपाध्यक्ष नन्दकिशोर राठी र वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका तम्सिएका छन् । मैदानमा होमिएका उनीहरुबीचमा नेतृत्व कसले हत्याउनेभन्ने होडबाजी छ । प्रतिस्पर्धी निर्वाचनका लागि मत जोड्न दौडधूप गरिरहेका छन् ।
संगठनका पूर्वउपाध्यक्ष तथा बोर्ड सदस्य सुराना नयाँ दृष्टिकोणसँगै उद्यमीको समस्या हल गर्ने प्रतिवद्धता जनाउँछन् ।
‘नयाँ दृष्टिकोण राखेर उद्योगी व्यवसायीका समस्या हल गर्ने योजनासहित मैदानमा आएको छु,’ उनले भने । उनी २०५४ सालबाट संगठनमा आवद्ध भएका हुन् । औपचारिक रूपमा भने २०६१ सालमा तत्कालीन अध्यक्ष किशोर प्रधानको कार्यसमितिमा उनी सदस्य बने ।
त्यसयता निरन्तर देखिएका उद्यमीको समस्या सम्बोधन गर्न र पाएको जिम्मेवारी पूरा गर्न आफू सक्रिय हुने सुराना बताउँछन् । उनी २०७५ देखि २०७७ सालसम्म संगठनको रोजगारदातातर्फ उपाध्यक्षको जिम्मेवारीमा रहे । त्यसपछिको साधारणसभामा वरिष्ठ उपाध्यक्षमा होमिएका सुराना २ मतले पराजित भएका थिए ।
उनी भन्छन्, ‘हाल वित्तीय क्षेत्रका कारण उद्योगीमा देखिएको समस्या, विद्युतीय संकट, लगायतका विषय निराकरणका लागि सक्रियतापूर्वक लाग्ने छु ।
उद्योगीका यावत समस्या समाधान गर्न सक्ने भन्दापनि सरकारसँग समन्वय गर्दै समस्याको हल गर्ने प्रयास मबाट हुने छ ।’ उद्योग व्यवसायको संरक्षण गर्न सरकार उदासिन रहँदै आएको आरोप लगाएका सुरानाले मुलुकको आर्थिक क्षेत्र चलायमान बनाउन उद्योग र व्यवसायलाई संरक्षण गर्नुको विकल्प नरहेको बताए ।
हाल संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेका अर्का प्रतिस्पर्धी राठी पछिल्लो १६ वर्षदेखि संगठनमा आवद्ध छन् । बोर्ड सदस्य हँुदै २०७५÷७७ मा संगठनको कोषाध्यक्षको भूमिकामा रहिसकेका राठीले नयाँ पुस्तालाई सँगै लिएर हिँड्नसक्ने हँुदा नेतृत्वका लागि प्रतिस्पर्धामा आएको बताए ।
उद्योग तथा कलकारखानाको उत्पादन कटौती हुँदै आधा अवस्थामा आइपुग्दा उद्योगीलाई संरक्षणको अभाव रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘संगठन राजनीति गर्ने थलो होइन । यहाँबाट व्यावसायिक हितको पहल हुनुपर्छ । व्यवसायिक हितका लागि समीकरण मिल्दा सहजीकरण हुन सक्ला तर, एकआपसमा मिल्न नसक्दा निर्वाचन हुनेछ ।’ राठीले संगठनद्वारा आयोजित विभिन्न कार्यक्रममा महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएका छन् ।
संगठनको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका मुरारका पनि संगठनको नेतृत्व हत्याउने दाउमा छन् । संगठनको ४८ औँ साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
७७ मतसहित उनी विजयी हुँदा अर्का प्रतिस्पर्धी सुरानाले ७५ मत ल्याएका थिए । त्यतिबेला २ मतले सुरानालाई हराएका मुरारका अहिले राठी र सुरानासँगै मैदानमा छन् ।
संगठनको साधारणसभामा २ सय ३५ जना सदस्य सहभागी हुने छन् । वैशाख २८ गते उद्घाटन हुने संगठनको साधारणसभा नयाँ नेतृत्व चयन गर्दै २९ गते सम्पन्न गर्ने कार्यक्रम छ ।
हाल सुयेश प्याकुरेल संगठनको अध्यक्ष छन् । संगठनमा आवद्ध अधिकांश उद्योगीहरु पुरानै परम्परा अनुसार आपसी समझदारीमा नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् । तर, ३ जना प्रतिस्पर्धीबीचमा सहमति नजुटे नेतृत्वका लागि निर्वाचनको सम्भावना पनि रहेको बताइएको छ ।
Discussion about this post