इलाम । ललिपुरमा बस्दै आएकी ४० वर्षीया निर्मला ढकाल सुवेदी (निरु) गएको चैत २३ देखि बेपत्ता भइन् । उनको खोजीका लागि प्रशासन, सामाजिक सञ्जाल र आफन्त समेत गुहारियो । तर हालसम्म उनलाई पत्ता लगाउन सकिएन ।
ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोलमा श्रीमान चेतमणि सुवेदीसँग बस्दै आएकी निरु बेपत्ता भएपछि परिवारमा चिन्ता छाएको छ । उनका साथमा पाँच बर्षीय छोरा चेन्ज सुवेदी समेत थिए ।
दुवैजजा हाल परिवारको सम्पर्कमा छैनन् । चेतमणि इमाडोल टेप्पोपार्क नजिकै रहेको आफ्नै मिनीमार्टमा दिनभर काम गर्छन् । व्यापारबाट घर गुजारा चलेको थियो ।
मिनीमार्टमा अरु स्टाफहरु पनि भएकाले पसलसँगै निरु इमाडोलमको कृष्ण मन्दिर नजिकै डेरामा छोराको हेरचाह गर्दै बस्दै आएकी पारिवारिक श्रोतले जानकारी दिएको छ ।
पाँच बर्ष कोरिया बसेर फर्किएपछि घरजम गरेकी निरु छोरासहित बेपत्ता भएपछि परिवारमा आपत निम्तिएको छ । चैत २२ गते नजिकै साथीको घरमा बास बस्न गएकी उनी २३ गतेदेखि सम्पर्क नभएको परिवारबाट जानकारी प्राप्त भएको छ । निरु हराएपछि निरुका बुबा ६७ बर्षीय नारायण ढकाल इलामको माईजोगमाईबाट काठमाडौं पुगेका छन् ।
आफ्नी साइली छोरी निरु र नातीको खोजीमा उपत्यकाका सडक र गल्लीमा भौतारिरहेका छन् बुबा नारायण ढकाल यतिबेला । प्रहरी प्रशासन, आफन्त, चिनजानमा रहेका व्यक्तिहरुसँग छोरी खोजी गरिदिन हारगुहार गरिरहेको उनले बताए ।
इलामको देउमाइ नगरपालिका–६ स्थायी घर र इलामकै माइजोगमाइ–६ माइत भएकी निरुको सीमित साथी र केही आफन्तबाहेक धेरैसँग सम्पर्क नभएको बुझिएको छ ।
दुई बर्षदेखि मोबाइल बोक्न नदिएको भन्ने बुबाले भर्खरै थाहा पाएको बताए । मोबाइल नभएपछि सामाजिक सञ्जाल चलाउने कुरै भएन । ज्वाइँसँग राम्रैसँग घरगरी खाएको भन्ने जानकारी भएपछि माइती पक्षले खासै चासो राखेको थिएन ।
घरजम गरेकी छोरीलाई धेरै सोधीखोजी नगरिएको बुबा नारायण ढकालको भनाई छ । ‘बेपत्ता भएको खबरले मन पोलिरहेको छ । काठमाडौं, भक्तपुर, ललितपुरका धेरै ठाउँमा पुगिसकें, केही पत्तो लागेको छैन,’ ढकालले भने ।
मन्दिर, आश्रम, सडक गल्ली सबैतिर पुगिसकेंको भए पनि कुनै खवर प्राप्त नभएको बुबा बताउछन् । प्रहरी, आफन्त, साथीसंगत सबै बुझिसकेको भएपनि बजारको भीडभाडमा छोरी कतै फेला नपरेपछि निराश छन् बुबा पनि ।
छोरी र नाती बेपत्ता भएपछि ज्वाइँको बोली र व्यवहारप्रति शंका लागेको ढकालको भनाई छ । उनले ज्वाइँले पटक पटक बोली फेर्ने गरेको भन्दै दुखेसो ब्यक्त गरे । छोरीसँगको सम्बन्धमा खटपट भएको आशंका आफूले गरेको बुबाको भनाई छ ।
बेपत्ता निरुका भाई संजिव ढकाल समेत काठमाडौमा नै छन् । उनले दिदी चैत्र २३ गते साथीकोमा जान्छु भनी निस्कएको पछि मात्र आफूले जानकारी पाएको बताए । मोबाइल पनि नबोकेका कारण फोन गर्ने कुरै भएन ।
बेपत्ताको खोजीका लागि परिवारले नेपाल प्रहरी बृत्त सातदोबाटो र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पनि निवेदन दिइसकेको छ । सिआइबीका डिएसपी दुर्गा दाहालले वेपत्ता भएका व्यक्तिको सम्भावित स्थानमा खोजी भइरहेको बताए ।
परिवारका सदस्यहरुले निज महिलालाई खोजी गरिदिन अनुरोध गर्दै फोन नम्बर पनि उपलब्ध गराउनु भएको छ । आफन्त तथा परिवारले मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन परिवारको अनुरोध छ ।
Discussion about this post