काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता फेरि रवि लामिछाने नै बन्ने भएका छन्। पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता बन्न उपसभापति डोलप्रसाद अर्यालले बाटो सहज बनाइदिएका हुन्।
अर्यालले दलको नेताबाट शनिबार राजीनामा दिएका छन्। यो सँगै तीन महिनापछि पुनः लामिछाने दलको नेता चुनिने भएका हुन्। अब बस्ने बैठकले दलको नेतामा लामिछानेलाई सर्वसहमत चयन गर्ने छ।
सर्वोच्चले संसद पद नै नरहने फैसला गरेपछि गत माघमा उनी दलको नेताबाट हटेका थिए। उनी हटेपछि अर्याललाई दलको नेता चुनिएको थियो।
तर नागरिकता लिएपछि पुनः उपनिर्वाचन जितेर लामिछाने संसद प्रवेश गरिसकेका छन्। उनले चितवन क्षेत्र नं २ बाट यसअघि भन्दा बढी मत ल्याएर निर्वाचित भएका हुन्।
शनिबार राजीनामा बुझाउँदै अर्यालले भनेका छन्, ‘विषम अवस्थामा संसदीय दलको नेताको जिम्मेवारी सम्हालेको तथ्य विदितै छ। हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनु भएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको छ। त्यसैले मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मितिदेखि लागु हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पद त्याग गर्दै राजीनामा पेश गर्दछु।’
Discussion about this post