काठमाडौँ । क्यानाडा भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालमा क्यानडाको राजदूतावास आवश्यक भएको बताएकी छिन ।
उनले दूतावास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह गरेकी छन्। क्यानेडियन विदेश मन्त्री मेलानी जोलीसँग ओटावामा भएको द्विपक्षीय भेटवार्तामा उनले यस्तो आग्रह गरेकी हुन् ।
‘अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानेडियन पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ। त्यसै गरी अनुसन्धानदाता, व्यवसायी तथा अरू पनि दुई देशका धेरै क्षेत्रका नागरिकबिच भ्रमणहरू आदानप्रदान भइरहेको छ,’ उनले भनिन, ‘त्यसैले क्यानडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।’
द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।
क्यानेडियन विदेश मन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री डा।राणा क्यानाडा पुगेकी हुन् ।
भेटका क्रममा परराष्ट्र मन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्याएको सहयोगको सराहना गरिन् । नेपालको ससदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने जानकारी उनले गराइन ।
क्यानाडा र नेपालबिच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् ।
Discussion about this post