प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण अहिलेको मुलभुत आवस्यकता रहेको बताएका छन् । देउवाले भ्रष्टाचार नियन्त्रण गर्न निरोधात्मकर प्रवर्द्धनात्मक पद्दतिलाई आत्मासाथ गर्नुको बिकल्प नभएको बताएका हुन् ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक छ । कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धता जस्ता विषयले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुर्याउने भएकाले यसतर्फ ध्यान दिन म सबैलाई आग्रह गर्न चाहन्छु ।’
देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायिक निकायहरु लगायतका निकायहरुको संस्थागत सुदृढीकरण, अनुसन्धान पद्धतिमा निरन्तर सुधार तथा न्याय निरुपणमा संवेदनशीलता जस्ता पक्षमा पनि गम्भीरतापूर्वक ध्यान दिन जरुरी रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनलाई विशेष महत्व दिंदै आएको बताएका छन् । ‘यसप्रति सरकारको प्रतिबद्धता अविचलित रहेको छ,’ उनले भनेका छन्, ‘विकास आयोजना व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्दै भ्रष्टाचार हुनै नदिनेतर्फ सरकारको अठोट छ ।’ उनले सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
Discussion about this post