प्रकाश तिम्सिना । इटहरी
ढल्कँदो उमेर । चाउरी पर्न लागेका गाला । थकानले भरिएको शरीर लिएर तगारीमा सिमेन्ट बोकिरहेकी छिन् मिना उराउ । १४ वर्षको कलिलो उमेरदेखि यसैगरी टाउकामा तगारी राखेर सिमेन्ट बोक्न थालेको ३१ वर्ष भयो ।
उनले काम सुरु गर्दा दैनिक हाजिरा १० रुपैयाँ थियो । त्यो बेला र अहिलेको समय सम्झिँदा अचम्म मान्छिन् मिना । ३१ वर्ष अघिको १० रुपैयाँले उनको घर खर्च चलाउन, तिरोभरो गर्न पुग्थ्यो ।
अचेल दैनिक ५५० रुपैैयाँ कमाई हुन्छ । १० रुपैयाँले गर्जाे टार्ने मिना अहिलेको महङ्गीलाई ५५० ले कतै नछुने बताउँछिन् ।
३१ वर्षदेखि ‘लेबर’ को काम गर्दै आएकी उनी ‘मिस्त्री’ हुन सकेकी छैनन् । फाट्टफुट्ट मिस्त्रीको काम गरेपनि ठूलो ठेक्का तथा भिडभाडमा भने गर्ने आँट अहिलेसम्म आएको छैन । मजदुरी काम गरेर जिन्दगी बिताएकी उनलाई अब कसरी घर खर्च चलाउने भन्ने चिन्ता छ ।
५५ वर्षकी उनी दिनदिनै उमेर ढल्किँदै जाँदा हिजो अस्तिको जस्तो काम गर्ने रहर समेत मर्दै गएको छ ।
उनीसँगै काम गर्दै गरेका इटहरी १२ खनारका ५५ वर्षीय निर्मल यादवले मजदुर काम गर्न थालेको १६ वर्ष भयो । काम सिक्दा उनको दैनिक हाजिरा २ सय थियो । अहिले दैनिक ६५० रुपैयाँ छ ।
श्रीमती र छोरासहित ३ जनाको परिवार धान्दै आएका उनलाई बुढेसकाल लागेसँगै घरपरिवारको चिन्ता त छँदैछ, बिरामी परे कसरी उपचार गर्ने भन्ने चिन्ताले सताइरहन्छ ।
१६ वर्ष प्लाष्टिकको बाटा र सिमेन्टको लुकामारीले पेट पाल्दै आए पनि अहिलेको महङ्गी र आम्दानीको हिसाब गर्ने हो भने जीवन धान्न समस्या रहेको उनी बताउँछन् ।
उनले आफ्ना ठेकेदारलाई पटकपटक ज्याला बढाउन भनिरहेका छन् । ठेकेदारले उनको गुनासो सुनेका छैनन् । मिना र निर्मललाई आज मजदुर दिवसको छुट्टी पाउनु पर्छ भन्ने जानकारी समेत छैन । दुवैलाई यत्ति चिन्ता छ– घरपरिवारको छाक कसरी टार्ने ।
६ महिना मजदुर काम गरी नसक्दै मिस्त्री भएका बराहक्षेत्र ४ कालाबन्जारका विजयकुमार चौधरीको अहिले दैनिक हाजिरा १ हजार रुपैयाँ छ । आफ्नो काममा सिपालु र सहज रुपले गर्ने गरेका कारण ठेकेदार फेरेदेखि मिस्त्री भएका हुन् ।
अरुभन्दा छिटो काममा फड्को मारेका उनी यही पेसामा रहेर काम गर्न सक्ने अवस्था नरहेको बताउँछन् । हाजिरा दैनिक हुन्छ तर राजेगारको ग्यारेन्टी छ त ?
उनी भन्छन् ‘दैनिक रोजगारको व्यवस्था मिलाउनु पर्याे, बिमाको व्यवस्था गर्दिनु पर्यो ।’ रोजगारको ग्यारेन्टी राज्यले गर्ने भए नेपालमा काम गरेर घर व्यवहार धान्न सकिने उनको भनाई छ ।
ठेकेदार भित्र ठेकेदार
रामचन्द्र मतिएट लामो समयदेखि ठेकेदार पेसामा छन् । उनी महिला र पुरुषबीचमा केही हदसम्म विभेद रहेको बताउँछन् ।
उनले ठेकेदार भित्रको पनि ठेकेदारका कारण महिला र पुरुषबीच असमानता रहेको बताउँछन् । ठेकेदारले सिधा काम दारलाई काममा लगाउन सक्ने अवस्था नरहेको मतिएट बताउँछन् ।
‘गाउँमा काम लगाउने एकजना हुन्छ, उसले काममा लगाएबापत प्रतिकामदार ४० देखि ५० रुपैयाँ लिन्छ’ रामचभन्द्र भन्छन् ‘कमिसनबाट काम भएपछि कामदार त ठगिइहाल्छन् ।’
राज्य नै विभेदकारी रहेको उनको गुनासो छ । ‘ठेक्का आह्वान हुँदा सबैभन्दा कसले कम रेटमा हाल्ने भन्ने प्रतिस्पर्धा हुन्छ’ मतिएट भन्छन् ‘कम रेटमा ठेक्का पाएपछि काम पछि सबैतिर तिरोभरो गर्दागर्दै श्रमिकलाई उचित रकम दिन सकिँदैन ।’
बेखबर स्थानीय सरकार
इटहरी उपमहानगरले प्रत्येक वर्ष कामदारको दररेट निकाल्ने गरेको छ । तर कार्यान्वयन भने भएको पाइँदैन । यसमा उपमहानगरले चासो पनि दिएको पाइँदैन ।
ज्यालामा काम गर्ने महिला पुरुषको दैनिक हाजिरा ७५० तोकिएको छ । हाल अधिकांश महिला कामदारले पुरुषभन्दा ५० देखि १५० सम्म कम दाम पाउँदै आएका छन् ।
उपमहानगर उप्रमुख संगीताकुमारी चौधरी स्थानीय सरकार एक्लैले केही नहुने भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिन् खोज्छिन् । नगरभित्र अनुगमन गर्ने जिम्मा उपप्रमुखको हुन्छ ।
आर्थिक वर्ष सकिन केही महिना बाँकी हुँदा पनि उनको ध्यान यतातर्फ गएको छैन । जसका कारण उहिलेदेखि रहेको महिला र पुरुषबीचको आर्थिक विभेद अन्त्य हुन सकेको छैन । भोलिका दिनमा पनि कम होला वा अन्त्य होला भन्ने कुनै संकेत देखिँदैन ।
Discussion about this post