खेमराज सुवेदी (कतार)
सर्वप्रथम १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको सम्पूर्ण श्रमिकहरूमा हार्दिक शुभकामना । श्रमिक दिवस मनाउँदै गर्दा काम गर्नेहरुको जीवनस्तर फेरिन सकेको छैन । अधिकार प्राप्तिमा धेरै कठिनाइ छ । श्रमिकमाथि शोषणका अनेक रुप अझै पनि विद्यामान छन् ।
हिजो श्रमिक शोषण गर्ने साधारण तरिका थियो । शोषण सजिलै पहिचान हुन्थ्यो भने अहिले परिस्थिति फेरिएको छ । शोषण गर्ने तरिका फेरिएका छन् ।
श्रमिक शोषण, शोषण जस्तो नलाग्न सक्छन् । विभिन्न बहानामा श्रमिकका अधिकार खोसिँदै छन् । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन । यो नारामा मात्र सीमित भएको छ ।
संविधानको धारा ३३ द्वारा प्रदत्त रोजगारको अधिकार, धारा ३४ अन्तर्गतको श्रमको हकमा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ भनेर गरिएको व्यवस्था पुस्तकका ठेलीमा मात्र सीमित भएको छ ।
प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था समेत धारा ३४ को उपधारा २ मा लेखिएको छ ।
प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने तथा त्यसमा सहभागी हुन पाउने अधिकारको व्यवस्था त्यसैगरी धारा ३४ को उपधारा ३ मा गरिएको छ ।
हिजो साहू व्यक्ति थिए जसको शोषणले सीमा नाघेपश्चात सन् १८८६ मा श्रमिकले आन्दोलन गरेर सहादत दिँदै आफ्ना अधिकार स्थापित गरेका थिए ।
तर आज परिस्थिति फेरिएको छ, साहू व्यक्तिबाट सरकारमा रूपान्तरित भएको छ । शोषकीको स्वरुप फेरियो, तर अझै श्रमिकको जीवनस्तर फेरिएको छैन ।
त्यसकारण पनि हाम्रा अधिकार हिजोको तुलनामा अझै ज्यादा खोसिदै छन् । हाम्रा अधिकारको सुरक्षाको निम्ति हामी सदैव सजग रहँदै हाम्रो आवाजलाई बुलन्द बनाइएन भने विभिन्न बहानामा हाम्रो श्रमले आर्जित गरेको वित्तलाई सानो चित्त भएका सरकाररुपी साहूहरूले खोसेर, सोसेर हरण गर्ने छन् ।
प्रवासमा रहेर देशको आर्थिक भारमा ६५ प्रतिशतभन्दा ज्यादा योगदान गर्ने नेपाली श्रमिकहरू माथि नेपाल सरकारमा रहेका साहूहरूले झनै ज्यादा ज्यादती गर्न लागेका छन् ।
पहिलेका तुलनामा श्रमिकका बन्धनहरू झनै कसिएका छन् । माखे साङ्गलाका स्वरूप तथा मोटाइ बढेका छन् । हिजो शोषण गर्ने सीमित थिए । आज असीमित छन् ।
हिजो शोषण प्रत्यक्ष हुन्थ्यो आज अप्रत्यक्ष बनेका छन् त्यसकारण पनि शोषणको स्वरूप फेरिएको छ ।
प्रवासी श्रमिकका सन्दर्भमा भन्नुपर्दा, यात्रा सुरु हुनु अगावै स्वदेशमै शोषणको चपेटामा पर्दछ । म्यानपावरबाट सुरु भएको शोषण दोहोरो बीमाको व्यवस्था हुँदै विमानस्थल नछोडुञ्जेलसम्म अनवरत चलिरहन्छ ।
आठ रुपैयाँ, दश रुपैयाँ भन्दै प्रवासमा आउने प्रवासी नेपाली श्रमिकले विभिन्न बहानामा भुक्तानी गरिरहन्छ तर उसले आफू शोषणमा परेको कहिल्यै पत्तो पाउँदैन ।
त्यसैले अहिले शोषकहरू चलाख भएका छन् भनिएको हो, साहूहरू सरकारमा छन् भनिएको हो, श्रमिक बाँध्ने बन्धनका स्वरूप फेरिएका छन् भनिएको हो, माखे साङ्गलाका स्वरूप तथा मोटाइ बढेका छन् भनिएको हो ।
संसारमा सबैभन्दा सशक्त तत्त्व ध्वनिको तरङ्ग हो भन्ने विज्ञानको भनाइ छ ।् ध्वनिको तरङ्गले नै यो संसार चलायमान बनेको छ ।
आफ्ना अधिकारको रक्षाको निम्ति आफ्ना ध्वनिहरू हामीले अझै सशक्त बनाऔँ, अझै सजग बनौँ । सम्पूर्णमा फेरि पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना ।
Discussion about this post