विवेक विवश रेग्मी
इटहरी । मधुरो घाम लागिरहेको छ । पुराना देखिने कार नजिकैबाट ट्याङ–ट्याङ आवाज आइरहेको छ । एक वयोवृद्व कारलाई वरिपरीबाट नियाल्दै बनाइरहेका छन् ।
यो दृश्य हो– इटहरीमा रहेको एक गाडी ग्यारेजको । धरान–११ घर भएका रोशनबहादुर सुनुवार ५७ वर्ष पुगे ।
यो उमेरलाई वृद्धावस्था सुरु भएको मानिन्छ । आराम गर्नुपर्ने उमेर । तर होइन, उनी आराम गर्दैनन् । काम गर्ने जोश युवावयकै जस्तो छ । २५ वर्षे युवाको जस्तै जाँगरिला छन् ।
उनले पुराना, बिग्रिएका तथा दुर्घटनामा परेका गाडीहरू, विशेषगरी कार बनाउन थालेको ३४ वर्ष भइसकेको छ ।
‘०४२ सालमा गाडी बनाउने काम सिकेँ, ०४५ सालदेखि पूर्णरूपमा काम गर्न सक्ने भएपछि पहिलो तलब नै काम सिक्न सुरु गरेको तीन वर्षपछि पाएँ,’ उनले सुनाए, ‘गोठालामा एकजना साथीले काम सिक्नुपर्छ भनेर हामी पोखरा गयौँ, त्यहीँ गएर काम सिकेको हुँ ।’
उनले तीन वर्ष काम सिकेपछि पहिलो तलब आठ सय रुपैयाँ पाएका थिए ।
२० वर्षको उमेरमै घर छाडेर पोखरामा काम सिकेपछि काठमाडौँ लगायतका ठाउँमा गएर काम गरेको उनले बताए ।
एक दिन गोठालो जाँदा दसैँ विदामा आएको साथी पुष्प मगरले काम सिक्न पोखरा जाने प्रस्ताव गरे ।
गाउँघरमा पढाइ नहुने । पढ्नका लागि चक्रघट्टीदेखि तीन घण्टा लामो समय हिँडेर विद्यालय जानुपर्ने बाध्यता थियो ।
अझ बर्खाको समयमा कोशी तरेर जान नसकिने भएकाले तीन कक्षा पढ्दैदेखि उनले विद्यालय जान सकेनन् ।
पढाइ नभएपछि सुनुवारले उनै साथी पुष्पसँगै पोखरा जाने निधो गरे । गोठालो जाँदाको निर्णयले उनको जिन्दगीले नयाँ मोड लियो ।
‘पुष्पले नै पोखरा लगेर काम खोजेर राम्रो काम देखाइदियो, उसलाई मेरो साथी भन्न पाएकोमा गर्व गर्छु,’ भावुक भए उनी, ‘खेतीमा दुःख हुन्थ्यो, खेतीभन्दा यही काम मलाई धेरै ठीक छ, खुसी छु, यसैमा सुख छ ।’
उनी ध्रुव मगरलाई आफ्नो गुरु मान्छन् । अहिले गाडीको सबै पाटपूर्जा कहाँ प्रयोग हुन्छ भन्ने सबै ज्ञान दिलाउन ध्रुवको योगदान रहेको उनले बताए ।
अहिले उनकै कारण आफूलाई कम्पनीले पत्याएर सहज रूपमा जीवन निर्वाह गरिरहेको सुनुवारले बताए ।
धरानमा आफ्नै ग्यारेज सञ्चालन गरेका थिए । उनी बीचको समयमा केही वर्ष कतार गए । कतारमा गाडी बनाउनकै लागि गएका उनले त्यहाँको राम्रो व्यवहार नहुँदा केही समयमै फर्किएर काम गर्न थालेको उनी बताउँछन् ।
‘विदेशमा त खटाई धेरै पर्छ, नेपालीलाई तल्लो स्तरले हेर्दो रहेछन्,’ उनले अनुभव सुनाए, ‘मिस्त्री भएर गएपनि उनीहरूको लागि हामी हेल्पर नै भईँदो रहेछ, त्यहाँ त हेड मिस्त्री भएपनि हेल्परकै रूपमा व्यवहार गरिँदा अलिक नमज्जा हुँदो रहेछ ।’
उनी चार वर्षदेखि सुजुकी सोरुम इटहरीकै ग्यारेजमा धरानबाट धाइरहेका छन् । बिहानै बसमा आउँछन्, दिनभर काम गर्छन् र साँझ बसमै धरान घर फर्कन्छन् ।
उनले महिनामा कहिलेकाहीँ पाँच वटासम्म गाडी बनाउँछन् । दुई छोरी, एक छोरा र एक श्रीमतीलाई आफूले खुसीसाथ राखेको सम्झँदा थोरै मुस्कुराए ।
‘ठूली छोरीले नर्स पास गरिसकी, अहिले ल्याबमा काम गरिरहेकी छ’ उनले सुनाए ।
सुनुवारसँगको बसाईमा उनी बेलाबेला मुस्कुराउँथे । घरीघरी निकैबेर बोल्थेनन् पनि । केहीबेर मौनतापछि उनी फेरि आफ्नो कामबारे स्मरण गर्न अगाडि तम्सिहाल्थे ।
अहिले आफूले मासिक ४० हजार रुपैयाँसम्म कमाई गर्ने गरेको बताए । गाडी छिट्टै बनेमा वा कोही खुसी भएमा पाँच सयदेखि एक हजार रुपैयाँसम्म खल्तीमा लगाइदिँदा आफूलाई प्रोत्साहन हुने उनी सुनाउँछन् ।
‘काम गरेर कहिल्यै सकिँदैन, कसैले खुसी भएर पाँच सय, हजार पनि दिइहाल्छ,’ उनले भने ।
आफूले ३३ वर्ष एउटै क्षेत्रमा काम गरेको भएपनि अझै सिकाईको अध्याय नसकिएको उनी बताउँछन् ।
‘काम जति गरिरह्यो, उति गरिरहुँ जस्तो लाग्ने लाग्छ, काम गर्दै जाँदा हरेक दिन नयाँ कुरा जानिन्छ, जति गर्यो उति सिकिने रहेछ,’ उनले सुनाए, ‘अलिक सानो उमेरबाटै जुनसुकै काम सिक्न खोज्यो भने सिकिनेरहेछ, अहिले नट बल्टु चलाउन जान्यो भने सबै मान्छे मिस्त्री भइहालेँ भन्ने बुझ्न थाल्छन् ।’
उनले अहिलेका नयाँ पुस्ता कामप्रति जिम्मेवार नरहेको बताए । भने, ‘त्यसबेला हामीले उस्तै ठाउँमा उल्टै पैसा दिएर काम गर्नुपर्थ्यो, अहिले त काम जानेको हुँदैन कति पैसा दिने भनेर आउँछन् ।’
अब कहिलेसम्म यसैगरी सक्रिय भएर काम गरिरहने ?
प्रश्न नटुंगिँदै उनले भने, ‘यसै बसेर हुँदैन, केही न केही श्रम गर्नुपर्छ नत्र शरीरमा खिया लाग्छ, ज्यानले सकुन्जेल काम गरिरहने हो ।’
Discussion about this post