विराटनगर : विराटनगरमा मृत बुबा–आमाको नाममा छोराले नै भत्ता लिएको पाइएको छ । विराटनगर महानगरपालिका–५ मा एक जना व्यक्तिले मृत बुबा–आमाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको पाइएको हो ।
५८ वर्षीय केशव ढकालले बाबुआमाको मृत्यु भइसकेको लामो समयसम्म उनीहरूको नामको सामाजिक सुरक्षाबापतको ज्येष्ठ नागरिक भत्ता बुझिरहेको पाइएपछि वडा कार्यालयले छानबिन गरेको छ । छानबिन गर्दा केशवका बुबा गोविन्दबहादुर ढकाल र आमा सानुमाया ढकालको यसअघि नै मृत्यु भइसकेको फेला परेको हो ।
बाबुआमा जीवितै रहेको भनेर उनीहरूको नामको ज्येष्ठ नागरिक भत्ता बुझ्ने केशवले मृतक बुबा–आमाको मृत्यु दर्ता नगरिकन भत्ता लिइरहेको वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए ।
कोही, कसैको मृत्यु भएमा ३५ दिनभित्र वडा कार्यालयमा मृत्यु दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था छ । तर, केशवले बुबा र आमाको मृत्यु दर्ता नगराइकन जीवितै रहेको भनेर लामो समयदेखि भत्ता बुझिरहेको पाइएको हो ।
सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि घटना बाहिर आएको वडाध्यक्ष न्यौपानेले बताए ।
‘आर्थिक वर्ष २०८१/०८२ का लागि बायोमेट्रिक विवरणसहित लाभग्राहीको नवीकरण गर्न राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने भनेर संरक्षकलाई जानकारी गराउँदा बाबुआमाको मृत्यु भइसकेको भनी शंकास्पद कुरा गरेकाले वडावाट स्थलगत सरजमिन गरी बुझ्दा बाबुको करिब ११ वर्ष र आमाको ४ वर्ष पहिला नै मृत्यु भइसकेको पाइयो,’ उनले भने ।
वडाध्यक्ष न्यौपानेको रोहबर र वडाका कर्मचारीको उपस्थितिमा केशवका छरछिमेकी एवं टोलबासीले ‘बुवाको करिब ११ वर्षअघि र आमाको २०७७ सालमा मृत्यु भएको ठीक साँचो हो’ भनेर सरजमिन गरिदिएको पाइएपछि यो घटना बाहिर आएको हो ।
गत साउन १७ गतेको सरजमिन मुचुल्काअनुसार दुवै जनाको मृत्यु बसोबास गरिरहेकै घरमा भएको हो ।
केशवलाई कारबाहीका लागि महानगरको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा सिफारिस गरिएको छ । वडाध्यक्ष न्यौपानेद्धारा जारी सिफारिसमा भनिएको छ, ‘झुटो विवरण र सामाजिक सुरक्षा कार्ड पेस गरी भत्ता बुझ्दै आएको पाइएकाले कारबाहीका लागि पेश गर्दछु ।’
उक्त मुद्दा महानगरको न्यायिक समितिमा विचाराधीन छ ।
महानगरले आवश्यक कारबाही सम्बन्धमा भनेर गत भदौ २ गते टिप्पणी आदेश तयार पारेको छ । ‘गोविन्दबहादुर ढकाल (परिचय पत्र नं १९८२१२३००४८५३) र श्रीमती सानुमाया ढकाल (परिचय पत्र नं १९९६१२३०२३१०३)का तर्फबाट संरक्षक छोरा केशव ढकालले बाबुआमा अति अशक्त अवस्थामा रही हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको भनी प्रत्येक आर्थिक वर्षमा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गरेर बैंकबाट रकम बुझ्ने गरेको’ टिप्पणी आदेशमा उल्लेख छ ।
झुटो विवरण पेश गरी संरक्षक, विश्वासयोग्य व्यक्ति वा स्याहार गर्ने व्यक्तिले भत्ता दुरुपयोग गरेको वडाको प्रतिवेदनबाट यकिन भएको महानगरको कानुन शाखा प्रमुख शारदा थपलियाले बताइन् । सामाजिक सुरक्षा ऐन, २०७५ को दफा २१ को उपदफा २ मा त्यस्ता व्यक्तिले लिएको रकम असुल गरी बिगो बराबर जरिवाना गर्नुपर्ने व्यवस्था छ ।
थपलियाका अनुसार यस्ता मुद्दाका कारबाहीको टुंगो स्थानीय तहको न्यायिक समितिले लगाउँछ । नागरिकताअनुसार केशवका बुवा गोविन्दबहादुरको जन्म १९९० साल फागुन ३० गते भएको हो । उनको नाममा २०२० फागुन ३० गते नागरिकता जारी भएको देखिन्छ । मृत्यु २०७० सालमा भएको छानबिनको प्रारम्भिक निष्कर्ष छ ।
तर, केशवले भने बुवाको मृत्यु भएको भनेर गत २०८१ असार ११ गते मात्रै मृत्यु दर्ता गराउन खोजेका थिए । भत्तामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि सामाजिक सुरक्षा कार्ड नवीकरण गराउनुको साटो केशवले मृत्यु दर्ता फारम भरेपछि घटना थाहा भएको वडाध्यक्ष न्यौपानेले बताए ।
महानगरको कानुन शाखा प्रमुख थपलियाका अनुसार उजुरी परेर म्याद जारी गरेपछि केशव महानगरमा हाजिर भएका छन् । प्रतिउत्तर भने फर्काएका छैनन् । ‘केशवविरुद्धको विचाराधीन मुद्दामा आदेश हुन बाँकी छ । बाबुआमाको मृत्यु कहिले भयो भन्ने प्रष्ट नभएपछि मृत्युको मिति यकिन गर्न फेरि अर्को सरजमिन मुचुल्का उठाउने तयारी छ,’ उनले भनिन् ।
उनका अनुसार मृत्यु पुष्टि भएको मितिदेखि लिएको भत्ता यकिन गरेर असुलउपर गर्ने कानुनी व्यवस्था छ ।
वडा कार्यालयमार्फत हरेक तीन महिनामा भत्ता वितरण हुँदै आएको छ । अति अशक्त र वृद्धको हकमा संरक्षक बस्न पाउने व्यवस्था छ । परिचयपत्र नवीकरणदेखि भत्ता बुझ्नेसम्मको अधिकार संरक्षकलाई हुन्छ । भत्ता लिने व्यक्ति स्वयं वडा र बैंकमा उपस्थित हुनुपर्दैन ।
सामाजिक सुरक्षा कार्डको नवीकरण र भत्ता वितरण वडाबाटै हुन्छ । वडाध्यक्ष न्यौपानेका अनुसार वडाबाट सामाजिक सुरक्षा भत्ता लिँदै आएका करिब ५८ जनाले कार्ड नवीकरण गरेका छैनन् । प्रत्येक वर्ष साउनमा नवीकरण गरिसक्नुपर्छ । यसवर्ष भदौसम्म समय दिइएको थियो ।
‘कार्ड नवीकरणका लागि प्रक्रिया अगाडि नबढाउनु शंकास्पद देखिन्छ,’ न्यौपाने भन्छन्, ‘उनीहरूले पनि गलत तरिकाबाट भत्ता लिइरहेको हुनसक्छ ।’
यता, केशवले भने काजकिरिया गर्न पैसा नभएकाले बुबाआमाको नामको भत्ता लिएको बताए । ‘म गरिब छु । किरिया गर्ने पैसा थिएन । ६ महिनाजतिको भत्ता लिएँ,’ उनको प्रष्टीकरण छ, ‘बुबा ठेकेदार हुनुहुन्थ्यो । म सामान्य ट्युसन पढाएर जीविका चलाउँदै छु । अपांगता भएको मान्छे हुँ ।’
केशवले बाबुको मृत्यु २०८१ असार ११ गते भएको भनेर मृत्यु दर्ता गर्न खोजेको कागजातबाट देखिन्छ । तर, बाबुको २०७९ चैत २६ गते र आमाको २०८० वैशाख २२ गते मृत्यु भएको केशव बताउँछन् । ‘मृत्यु दर्ता गरेको छैन । कर्मचारीले नै काम गरिदिएनन्,’ उनले भने ।
बाबुको मृत्यु भएको मिति आफूले एउटा भनेको र लेखन्दासले कागजमा अर्कै बनाइदिएको गुनासो उनको छ ।
‘मैले बुवाआमाको मृत्यु भइसकेपछि ६ महिनाजतिको भत्ता लिएकै हो । ६० हजारजति फिर्ता गर्छु भनेको छु ।’ उनले भने । बाबुआमाको मृत्यु भएपछि लिएको भत्ता रकमका बारेमा आफूलाई थाहा नभएको उनको भनाइ छ ।
Discussion about this post