इटहरी : इटहरी खानेपानी उपभोक्ता संस्थामा नेकपा एमालेले बहुमतको दम्भ देखाएर बलमिच्याइँ गरेको आरोप लागेको छ ।
बिहीबार परिषद् भेलामा एमालेले बहुमतको दम्भ देखाएर परिषद् सदस्यहरूको माग सम्बोधन नगरेको र आफ्ना विचार नै नसुनेको भन्दै परिषद् सदस्यहरूबीच कुर्सी हानाहानको अवस्था सृजना भएको थियो ।
सोहीबारे शुक्रबार (आज) पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले भत्र्सना जनाएका हुन् ।
नेपाली कांग्रेस इटहरी उपमहानगर समितिका उपसभापतिसमेत रहेका परिषद् सदस्य बालकृष्ण विष्टले एमालेले बहुमतको दम्भ देखाएर आफ्ना विचार राख्न नदिएको बताए ।
‘बलपूर्वक एकलौटी अगाडि बढ्न खोज्दा यो परिस्थिति उत्पन्न भएको हो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘परिषद् सदस्यले आफ्ना विचार राख्ने र चित्त नबुझेका कुरा राख्ने एकमात्र ठाउँ भनेकै साधारणसभा हो । त, एमालेले एकलौटी रूपमा विधान, नीति तथा कार्यक्रम, आगामी वर्षका योजना कथित रूपमा पारित गरिएकोमा खेद व्यक्त गर्दछौँ ।’
बिहीबारको उक्त सभा अवैधानिकसमेत रहेको बताउँदै उनले पुनः सभा हुनुपर्ने माग राखे ।
कांग्रेससहितका राजनीतिक दलहरूबाट निर्वाचित परिषद् सदस्यहरूले खानेपानीको महसुल बढी भएकाले युनिटको न्यूनतम ८० रुपैयाँ मात्रै लिनुपर्ने, खानेपानी धारा जडान शुल्क अधिकतम् महंगो भएकाले १० हजार पाँच सय मात्रै लिनुपर्ने, गरिब तथा सीमान्तकृतका लागि वितरण गरिदैँ आएको धारा पार्टीका आफ्ना मान्छे र कार्यकर्तालाई अपारदर्शी ढंगबाट वितरण गरिदैँ आएकाले त्यसलाई रोक्नुपर्नेजस्ता माग राखेका थिए ।
तर, माग सम्बोधन नगरीकन बैठक अगाडि बढेपछि परिषद् सदस्यहरू आक्रोशित बन्दा कुर्सी हानाहानको परिस्थिति सृजना भएको विष्टले बताए । सार्वजनिक स्थलमा जोडिएका धारामा न्यूनतम युनिटसम्म निःशुल्क हुनुपर्ने, विभिन्न बुँदासहित विधान संशोधनसमेत गरिनुपर्नेजस्ता माग राखिएको उनले बताए ।
यसैगरी संस्थामा अध्यक्षसहितको कार्यसमिति प्रत्यक्ष निर्वाचित चयन गर्नुपर्ने प्रस्ताव पेश गरिएको थियो ।
आफूहरूको माग सम्बोधन नभइकन सभाबाट बाहिर जान बाध्य पारिएको उनको भनाइ छ । खानेपानी संस्थाले उपभोक्ताको हितमा सहुलियत, सफा र सस्तो दरमा खानेपानी वितरण गरिनुपर्ने उनले बताए ।
तर, खानेपानीजस्तो संवेदनशील विषयमा उपभोक्ताकै हितविपरीत नेकपा एमालेले राजनीति गरेर बलमिच्याइँ गर्न खोजेको उनको आरोप छ ।
संस्थामा एक सय ८३ परिषद् सदस्य रहेका छन् । जसमा नेकपा एमालेको स्पष्ट बहुमत छ ।
Discussion about this post