टीका खतिवडा
इलाम । इलामका सडकमा लामो समयदेखि ट्रक कुदाइरहेका छन् झापाका दलबहादुर गेलाल । ५२ वर्ष पुगेका उनले २९ वर्षदेखि यो काम गरिरहेका छन् ।
यही पेशाले उनको परिवारको जीविकोपार्जन भइरहेको छ । मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । दिनरात काममा खटिने उनलाई यो दिवसले सम्बोधन गर्न सकेन । उनीजस्ता धेरैलाई दिवस आयो, गयो पत्तै हुँदैन ।
कतिपयले दिवस मनाइरहँदा गेलाल भने सोमबार बिहानै इलामको सन्दकपुर गाउँपालिकाबाट ट्रकमा गोलिया काठ लोड गरेर झापातर्फ लागे । ट्रकमै बास बसेका उनीसँगै देउमाई नगरपालिका २ का निमा शेर्पा पनि उसैगरी गोलियाले ट्रक भरेर झापाका भेनियर उद्योगतर्फ लागे ।
ट्रकमा गोलिया लोड गर्ने सन्दकपुर गाउँपालिकाकै केही युवाहरुको दैनिकी पनि बिहानै झिसमिसेदेखि काममै बित्छ । इलाम नगरपालिकासँगै सीमानामा पर्ने सन्दकपुर गाउँपालिका तर्फको सानिमाई खोला किनाराबाट गोलिया लोड गर्न एक घण्टा धाएर उनीहरु आए ।
उनीहरु लाई आज श्रमिक दिवस हो भन्ने थाहा नै थएन । सरकारले आजका दिनलाई बिदा दिएको छ । तर तलबी कर्मचारीको बिदा भए पनि ज्यालादारमिा काम गर्नेहरुलाई यो दिवसमा दिइने बिदाले उल्टै मर्कामा पार्ने गरेको छ । काम नगरे छाक कसरी टार्ने भन्ने चिन्ता हुन्छ ।
‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नारासहित आज यो दिवस मनाइँदै छ । १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै गर्दा धेरै श्रमिकलाई वास्ता नै छैन ।
एक श्रमिकले नाम उल्लेख नगर्ने शर्तमा मजदुर नेताले आजका दिन काम गर्दा समस्यामा पार्ने बताए । आजका दिन काम गर्न हुँदैन भनेर आफूलाई भनेको भएपनि काम गर्दा मात्र खान पाइने भएकाले आफूले आजका दिन पनि काम नछोडेको बताए ।
करिब ७० वर्ष पार गरेका उनले लामो समय बिद्यालयमा कार्यालय सहयोगी काम गरेर बिताएको सुनाए । आजकल बिभिन्न ब्यक्तिको घरमा चामल, ग्यास लगायतका सामग्री पसलबाट घरघरमा लैजाने काम गरिरहेका छन् ।
उनीजस्तै अन्य पेशामा काम गर्ने मजदुरलाई यो दिन बिदा दिन भन्दा पनि गर्दै आएको काममा अझ दक्षता बनाउनेतर्फ सरकारले सोचे अझ राम्रो हुने मजदुरहरुको भनाई छ ।
सरकारी निकाय तथा ट्रेड युनियनहरुले आजका दिनमा विभिन्न प्रचारात्मक कार्यक्रम गरी यो दिवस दिवस मनाउँछन् । तर वास्तविक मजदुरहरुले ज्याला कहिले बढ्ला भन्ने सोचिरहेका हुन्छन् । महंगी बढिरहेको छ । ज्याला उसरी नबढ्ने गरेको केही मजदुरहरुको भनाई छ ।
ट्रेड यूनियनले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको न्यूनतम ज्याला बढाउन माग गरिरहेका छन् । आर्थिक मन्दीका नाममा तलब रोक्ने काम बन्द गराउन माग गर्दै आएका छन् । यो कुरा पनि तल्लो तहका मजदुरलाई थाहा हुँदैन ।
अहिले श्रमिकको न्यूनतम ज्याला भत्तासहित १५ हजार रुपैयाँ छ । यो धेरैलाई थाहा छैन । १० हजारभन्दा कमको माशिक पारिश्रमिकमा काम गरिरहेका हजारौँ युवा छन् । सो सरहकै काम पाए खुसी बाड्ने सोचमा पनि उत्तिकै संख्यामा युवाहरु छन् ।
राष्ट्रिय जनगणनाको रिपोर्टले २०७८ मा एक करोड १० लाख ३८ हजार मानिस कुनै न कुनै किसिमको रोजगारमा संलग्न रहेको तथ्यांक सार्वजनिक गरेको छ । यसमा कृषि, वन र माछापालनमा ५० प्रतिशत रहेको उल्लेख छ ।
प्राथमिक वा सामान्य पेशामा २३ प्रतिशत रहेको बताइएको छ । सेवा तथा वस्तु बिक्रीमा करिब ६ प्रतिशत संलग्न रहेको उल्लेख छ । ठुला पदमा कार्यरत कर्मचारीले जसरी आजका दिनमा खुसीयाली मनाए तर उस्तै खुसी मनाएनन् वास्तविक ज्यालादारी मजदुरहरुले ।
एउटै काम तर ज्याला फरक भएर काम गर्ने पनि उत्तिकै संख्यामा छन् कामदारहरु । महिला पुरुषकै पनि ज्यालामा विभेद छ ।
Discussion about this post