प्रकाश तिम्सिना
इटहरी । धरान उपमहानगरका मेयर र कार्यपालिका सदस्यबीचको विवादका कारण विकास निर्माणलगायत काम प्रभावित हुँदै आएको छ । विवाद साम्य हुनुको साटो अझ बढिरहेको छ ।
गत वर्ष जेठमा भएको स्थानीय तह निर्वाचनपछि बसेको पहिलो कार्यपालिका बैठकदेखि नै स्वतन्त्रबाट विजयी भएका मेयर हर्कराज राई (हर्क साम्पाङ) र वडाध्यक्षहरुबीच विवाद सुरु भएको थियो ।
सुरुमै नदीजन्य पदार्थ उत्खनन् गर्ने विषयमा खटपट सुरु भयो । मेयरले खोला ठेक्का लगाउन नहुने अडान राखे । वडा अध्यक्षहरुले आवश्यकताका आधारमा खोलाजन्य पदार्थ उत्खनन् गर्नुपर्ने अडान राखे ।
उनीहरुले वार्षिक ५ करोड राजस्व गुम्ने भन्दै नदीजन्य स्रोत सदुपयोग गर्नु पर्ने धारणा राखेका थिए । तर मेयर राईले अडान नछोडेपछि खोला ठेक्का लाग्न सकेन ।
मेयर र कार्यपालिका सदस्यहरूको ‘जुँगाको लडाइँ’ त्यही दिनदेखि सुरु भयो । त्यसयता हरेक कार्यपालिका बैठकमा दुवै पक्षका आ–आफ्नै अडान र व्यवहार सार्वजनिक हुँदै आएको छ ।
मेयर आफ्नो एजेन्डालाई जबरजस्ती घुसाएर ठाडै पास गर्न खोज्ने अनि वडाध्यक्षहरू मेयरले कुनै प्रस्ताव पनि छलफल नगरी ल्याउने गरेको भन्दै कडा आलोचनासाथ अस्वकिार गर्ने । यही क्रम चलिरहेको छ ।
पहिलो विवाद साम्य हुन नपाउँदै गत असोज १३ गते धरान–१७ मा रहेको सप्तरङ्गी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने विषयमा कार्यपालिका सदस्य र मेयरबीच लामो विवाद भयो । कार्यपालिका सदस्य अनुप देवान भईरहेको पार्कको नाम फेर्न नहुने भन्दै कडा प्रतिवादमा उत्रिए ।
त्यसयता तीन महिना कार्यपालिका बैठक बस्न सकेन । सोही विषयलाई लिएर मेयरले पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरुको राजीनामा नै मागे ।
पछि सप्तरङ्गी पार्कलाई नाम परिवर्तन नगर्ने बहुसांस्कृतिक पार्कका विषयमा अन्य कुनै ठाउँ खोज्ने सहमति भयो ।
पछिल्लोपटक फागुन २९ गते कार्यपालिका बैठकमा नदीजन्य पदार्थ उत्खनन्, उपयोजन स्थानीय मापदण्ड २०६९, शिक्षा समिति गठन गर्ने, प्रदेश र संघीय सरकारबाट आएको बजेट कसरी कार्यान्वयन गर्ने जस्ता एजेन्डा थिए ।
ती एजेन्डामा छलफल नै नभई अर्को विवाद सुरु भयो । वडा कार्यालयहरूलाई मेयर साम्पाङका स्वकीय सचिवले काटेको एउटा पत्रले पछिल्लो विवादको बीउ रोप्यो ।
स्वकीय सचिव सुदर्शन लिम्बुले सबै वडा कार्यालयहरूलाई आर्थिक वर्ष २०७९–८० भित्र सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको सूची बनाई उपलब्ध गराउन पत्र पठाएका थिए ।
स्वकीय सचिवले काटेको त्यही पत्रको विषयमा १ चैत २०७९ को कार्यपालिका बैठकमा ठूलै विवाद भयो । स्वकीय सचिवले क्षेत्राधिकार नाघेर पत्र पठाएको भन्दै वडाध्यक्षहरूले कार्यपालिका बैठकमा चर्को आलोचना गरे ।
कार्यपालिका बैठकमै धरान १० का वडाध्यक्ष विवेक राईले गैरकानुनी हिसाबमा वडालाई पत्र पठाएको भन्दै स्वकीय सचिवलाई कारबाहीको माग राखेका थिए ।
विवादको क्रम यतिमै रोकिएन । पत्रको कडा आलोचनामा उत्रिएका वडाध्यक्ष राईलाई बैठक भाँड्ने गरी अराजक र अमर्यादित भाषा शैलीमा कराएको भन्दै तीन दिनभित्र स्पष्टीकरण लेखी पठाउन भन्दै मेयर साम्पाङले पत्राचार गरे ।
पत्रमा चित्तबुझ्दो स्पष्टीकरण नआए कार्यपालिका बैठक भाँडेको कसुरमा कानुनअनुसार सजाय हुने चेतावनी साम्पाङको थियो ।
त्यसपछि कार्यपालिका सदस्यहरू थप आक्रामक भए । उनीहरुले हातमा कालोपट्टी बाँधेर वडाको काम गर्न थाले ।
मेयर साम्पाङले कार्यपालिका बैठक आह्वान गरे । तर तीनजना कार्यपालिका सदस्यबाहेक कोही उपस्थित भएनन् ।
मेयर साम्पाङले फेरि बैशाख ७ गते पत्रकार सम्मेलन गर्दै काम गर्न मन नभए, आफूलाई असहयोय गरेको भन्दै वडा अध्यक्षहरुको फेरि राजीनामा माग गरे ।
मेयरले १ बजे पत्रकार सम्मेलन गरेका थिए । त्यसको ३ घण्टा बित्न नपाउँदै वडाअध्यक्ष तथा कार्यपालिका गरी २८ जनाले ४ बजे पत्रकार सम्मेलनको आयोजना गरे ।
उनीहरुले मेयर राई विधि अनुसार नचलेको, स्वेच्छाचारी भएको आरोप लगाए । साथै मेयरले आफ्नो गल्ती स्वीकार गरेर माफी नमागेसम्म कार्यपालिका बैठकमा सहभागी नहुने अडान राखे ।
वडा नम्बर १७ का वडा अध्यक्ष मनोज भट्टराईले नगरमा हुने हरेक क्रियाकलाप तथा कार्यपालिका बैठकमा पेस गरेर मात्रै अघि बढ्न मेयर साम्पाङलाई भन्दै आएका छन् ।
तर मेयरले आफ्नो एकल निर्णय सर्वस्वीकार्य हुनुपर्छ भन्दै अडान लिएपछि अहिले धरान उपमहानगरमा लामो समयदेखि कार्यपालिका बैठक बस्न सकेको छैन ।
आगामी असार १५ गतेभित्र नगरको नीति तथा बजेट प्रस्तुत गर्नु पर्ने कानुनी व्यबस्था छ । तर बजेटबारे छलफल हुन सकेको छैन । मेयर र कार्यपालिका सदस्यको विवादले नगरका गतिविधिमा मात्रै प्रभाव पारेको छैन, विकासका काममा असर गरिरहेको छ ।
‘नेतृत्वका कारण समस्या’
स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट मेयर पदका उम्मेदवार रहेका किशोर राई नगरमा भइरहेको क्रियाकलापमा चिन्ता व्यक्त गर्छन् ।
जनप्रनितिधि आएपछि जनताका समस्या हेरेर समाधानमा लाग्नु पर्नेमा आफू आफूबीचको द्वन्द्वले नगरलाई क्षति हुने राईको भनाई छ । ‘एक पक्षको मात्रै धारणा सुनेर हुँदैन’ राईले भने, ‘नगरलाई कसरी अघि बढाउने, घरका सदस्यलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मा नेतृत्वको हो, धरानमा नेतृत्व कमजोर भयो ।’
सिङ्गो नगर कार्यपालिकाले चलाउने कुरा भएको भन्दै उनले भोलि कुनै ठूलो विषयमा बहुमत पुगेन भने पनि नेतृत्वले मिलाउन सक्नु पर्ने बताए ।
‘अहिले देखिएको समस्यामा मेयरलाई मात्रै दोष दिनु हुँदैन’ राईले भने, ‘अन्य सदस्यको पनि कमी कमजोरी होला तर नेतृत्वले नै जिम्मा लिनु पर्छ ।’
Discussion about this post