काठमाडौँ । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले संरक्षण गर्न नसकिने बताएका छन् ।
पार्टी पदाधिकारी बैठकपछि बाहिरिने क्रममा नक्कली भुटानी शरणार्थी ठगी प्रकरणबारे पत्रकारले राखेको जिज्ञासामा महतले राज्यले अपराध गर्नेहरुलाई संरक्षण गर्न नसक्ने बताएका हुन् ।
‘राज्य संयन्त्रले कुनै पनि गैरकानुनी क्रियाकलापलाई कहींकतै पनि संरक्षण गर्न सक्दैन । त्यो कल्पना पनि गर्न सकिँदैन,’ उनले भने,’जसले गलत काम गरेको छ । गलत कामको फर्दाफास हुनुपर्छ । कानुनी कठघरामा ल्याउनुपर्छ ।’
नक्कली शरणार्थी प्रकरणमा भएको ठगी जघन्य अपराध भएको भन्दै प्रवक्ता महतले दोषी सबै सजायको दायरामा आउने विश्वास व्यक्त गरे ।
‘पत्रपत्रिकामा आइसकेपछि हामीले थाहा पाएका हौं । यो आपराधिक काम हो । यसको जति निन्दा गरे पनि कम हुन्छ,’ उनले भने, ‘अनुसन्धानको क्रममै छ । न्याय निरुपण होला । हामी चाहन्छौं कि जो-जो त्यसमा सहभागी छन् । तिनीहरु सजायको दायरामा आउनुपर्छ ।’
Discussion about this post