काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र विपक्षी बेन्चमा बस्ने निर्णय भएको हो।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन पहल गर्दै आएपनि रास्वपाले सरकारमा नरहेर जनतामा जाने निर्णय गरेको हो।
नागरिकता विवादमा मुछिएर सांसद पद गएसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । समर्थन भने कायमै रहेको थियो ।
उपनिर्वाचनपछि रास्वपालाई सरकारमा सहभागी गराउने बारे सत्ता गठबन्धनमा छलफल भएको थियो ।
रास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो माग पुरा भएमा सरकारमा सहभागी हुन सकिने बताएका थिए ।
पार्टीभित्रको तीव्र दबाबपछि अन्ततः रास्वपाले सरकारमा नजाने निर्णय गरेको नेताहरुको भनाइ छ ।
Discussion about this post