काठमाडौँ । सरकारले राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान २०७९ प्रदान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज आइतबार सिंहदरबारमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार र दुई जनालाई वरिष्ठ पत्रकार सम्मान २०७९ ले सम्मान गरेको हो ।
वरिष्ठ पत्रकार सम्मान २०७९ बाट वरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बलराम थापालाई सम्मान गरिएको छ भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ६ जना सम्मानित भएका छन् ।
आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित समारोहमा राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनिता विन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, रामकृष्ण ज्ञवाली र लक्ष्मी आचार्यलाई प्रदान गरिएको छ ।
वरिष्ठ पत्रकार सम्मान जनही दुई लाख रुपैयाँ र राष्ट्रिय पत्रकारिता पुरस्कार जनही एक लाख रुपैयाँ राशिको रहेको छ ।
पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताए ।
मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण गर्ने नीति लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनमा रूपान्तरण ल्याउनु राजनीति र पत्रकारका दुवैको दायित्व भएको बताउँदै पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।
Discussion about this post