विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी बजेट परिणामुखी हुने दाबी गरेका छन् । प्रदेशलाई बलियो बनाउने परिणममुखी बजेट ल्याउने उनले बताए ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराटनगरमा सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९÷०८० को दोस्रो तथा तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं आगामी आर्थिक वर्ष २०८०÷०८१ को योजना तर्जुमा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रदेशभित्र राजस्व संकलनको अवस्था, वित्तीय अनुशासनको पालना, आर्थिक अराजकताको अन्त्य, सरोकारवालाको सुझाव, प्रशासनिक खर्चमा मित्तव्ययिता, बहुवर्षीय आयोजनामा भएको प्रगति, नयाँ योजना छनोट, रोजगारीको सिर्जना, जनताको आवश्यकतालगायतलाई ध्यानमा राखेर आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याइने जानकारी उनले दिए ।
‘परिणाम दिने हिसाबको बजेट ल्याउने तयारीमा सरकार जुटेको छ । सम्भव नहुने र ‘रिजल्ट’ नदिने खालका कार्यक्रमलाई बजेटमा समेटिने छैन,’ मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशलाई सकारात्मक दिशामा हिँडाउने नीति तथा कार्यक्रम चाहिएको छ ।’
ठूला नयाँ आयोजना भन्दा मझौला प्रकृतिका आयोजनालाई बजेटमा समेट्ने तयारी गरिएको उनले बताए । ‘राजस्व कसरी बढाउन सकिन्छ भन्नेबारे अध्ययन हुने छ । बजेटमा ठूला आयोजना समेटिने छैन,’ उनले भने, ‘यसपटक मझौला प्रकृतिका आयोजना प्राथमिकतामा पर्ने छ ।’
बजेटको आकार २० प्रतिशत घट्ने संकेत गर्दै मुख्यमन्त्री कार्कीले आगामी वर्ष ठूलो बजेट खर्च गर्नसक्ने अवस्था नभएको उल्लेख गरे । राजस्वको सम्भावित स्रोत पहिल्याउँदै प्रदेश सरकारले आन्तरिक राजस्व बढाउन नसकेमा त्यो अवस्था झन् बढेर जाने उनको भनाइ छ ।
धेरै कुरामा हात हाल्नेभन्दा पनि व्यवस्थापनको पाटोलाई मजवुत बनाएर प्रदेश सरकारको औचित्य पुष्टि हुने बजेटमा ध्यान केन्द्रित गरिएको कार्कीको भनाइ छ । ‘एकैपटक धेरै कुरामा हात हाल्नेभन्दा पनि सीमित कुरालाई ध्यान दिएर सफल हुनु राम्रो,’ उनले भने, ‘त्यही भएकाले सक्ने कुरा मात्रै समेट्दा ‘रिजल्ट’ राम्रो आएर प्रदेश मजवुत बन्छ ।’
बजेट ल्याउनुपूर्व सरोकारवालासँग गरिने छलफल अर्थपूर्ण र निस्कर्षसहितको हुने भन्दै कार्कीले पर्यटन, वन तथा वातावरणको क्षेत्र भने बजेटको प्राथमिकतामा पर्ने बताए । उनले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व संकलन, मझौला उद्योग सञ्चालन र रोजगारीसँग जोडेर लैजानुपर्ने बताए ।
मुलुकको पछिल्लो वित्तीय अवस्थाले राम्रो संकेत नगरेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेशको आगामी राजस्व संकलनलाई कोशे ढुंगा सावित गर्न प्रदेश सरकारले संयोजनकारी भूमिका खेल्ने बताए ।
‘विगत दशौं वर्षमा नभएका विकास निर्माणका काम प्रदेश सरकार बनेपछि ५ वर्षमा भएका छन् । पूर्वाधार निर्माणमा प्रदेशले फड्को मारेको छ,’ उनले भने, ‘तर, प्रदेशका बारेमा नकारात्मक हल्ला बढी चलाइयो । यद्यपि, हामी जहाँ छौँ, त्यहीँबाट सुधार गर्न चाहन्छौँ ।’
प्रदेशमा धेरै कार्यवोझ भएको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगसँग समन्वय गरिने कार्कीले बताए । ‘धेरै कार्यवोझ बोकेको यो मन्त्रालयमा ५० प्रतिशत मात्रै कर्मचारी छन्,’ उनले भने, ‘आगामी ६ महिनाभित्रमा पदपूर्ति गर्ने गरी लोकसेवासँग समन्वय गरिने छ ।’
कोसी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले अब २० वर्षअघिका जस्ता बजेट बनाएर नहुने बताए । ‘आगामी बजेटले प्रदेशको औचित्य पुष्टि गर्न सक्नुपर्छ । प्रदेश सरकारसँग जनताका आशा धेरै छन्,’ उनले भने, ‘धेरै छलफल भएर नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।’
मन्त्री आचार्यले कोसी प्रदेशलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको प्रवर्द्धन आवश्यक देखिएको पनि बताए । ‘पर्यटकलाई आकर्षण गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्छ’ उनले भने, ‘सुरक्षा चेकजाँचका नाममा नेपाल आउने पर्यटकलाई निरुत्साहित गर्ने र हतोत्साही बनाउने काम भइरहेको पनि पाइयो । यस विषयमा प्रहरीले ध्यान दिनुपर्छ ।’
पर्यटन प्रवर्द्धनकै लागि केही दिनमा विराट–बर्जु दौड प्रतियोगिता आयोजना गरिने जानकारी उनले दिए ।
Discussion about this post