प्रकाश तिम्सिना
इटहरी । इटहरी उपमहानगरपालिका–१९ ब्रम्हपुरका लालबहादुर विश्वकर्माका लागि न्यायको माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । सोमबार प्रदेश राजधानी विराटनगरको ट्राफिक चोकमा विभिन्न संस्थामा आबद्ध अभियन्ताहरूले लालबहादुरलाई न्यायालयले न्याय दिनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।
निर्दोष मानिएका लालबहादुर जिल्ला अदालत सुनसरीको आदेशमा झुम्का कारागारमा थुनिएको पाँच महिनापुग्न आँटेको छ ।
सुनसरी अदालतले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै उनीमाथि तीन करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो असुली र ठगी मुद्दामा ७० हजार जरिवाना तथा डेढ वर्ष कैदको सजाय तोकेको थियो ।
तर, मुख्य जाहेरवाला सुकमित गुरुङसहित ७२ जनाले लालबहादुर दोषी नभएको बकपत्रसमेत गरेका छन् ।
कसरी मालिकको जालोमा फसे गोपाल ?
गोपाल भनिने लालबहादुर विशवकर्मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० ब्रहमपुरमा बस्छन् । अत्यन्त बिपन्न परिवारका लालबहादुर १० वर्षअघि खाडी मुलुक दुबई बसेर नेपाल आएका थिए । आएलगत्तै विवाह गरे । उनले विदेश नजाने भन्दै चिनेजानेकै पसलमा काम गर्न थाले । लालबहादुरको घर र उनले काम गर्ने पसल करिब ३ किलोमिटर दूरीमा पर्छ ।
मासिक २० हजार ५ सय आन्दानीले श्रीमान श्रीमतीलाई दुःखसुख खान पुगिरहेको थियो । उनले काम गर्ने सुन पसलका सञ्चालक हुन्, इटहरीका दिपक बिश्वकर्मा गजमेर ।
दिपकको सिंहदेवी ज्वेलर्सबाहेक मनी ट्रान्फर, सपिङ सेन्टर पनि थियो । तर यो बाहेक पनि दिपकको अर्को ठूलो आर्थिक अवैध धन्दा थियो । उनले पसलमा आउने र अरु धेरैलाई राम्रो ब्याज दिने भन्दै पैसा उठाउने गर्थे । उनले पासबुक नै बनाएर बचतका नाममा करोडौँ रकम उठाएका थिए ।
दिपकले सञ्चालन गरेको सुन पसलमा उनका बाबु कृष्ण, भाई कमल, दिदी सीता पनि काम गर्थे । दिपकले उनीहरु सबैलाई त्यसैगरी पासबुक बनाएर पैसा उठाउने कार्यमा संलग्न गराएका थिए ।
दिपकका बाबु कृष्ण विश्वकर्मा पढ्न लेख्न जान्दैनथे । पसलमा छोराछोरी नभएको समयमा कृष्णले पैसा बुझ्ने र पासबुकमा लेख्ने काम लालबहादुरलाई लगाउने गर्थे ।
समय बित्दै गयो । यसैगरी दिपकले करोडौँ रकम उठाए । तर ब्याजको आशले पैसा दिएकाहरुले ब्याज त परको कुरा साँवा पनि फिर्ता पाएनन् । जति रकम जम्मा गरे पनि आजसम्म जम्मा गरेका व्यक्तिले कुनै रकम पाएका छैनन् ।
आफ्नो पैसान उठ्ने संकेत पाएपछि पीडितहरु प्रहरी गुहार्न पुगे । पीडितहरुको जाहेरीपछि प्रहरीले कृष्ण विश्वकर्मा, दिपक विश्वकर्मा, सीता विश्वकर्मालाई पक्राउ ग¥यो । लालबहादुर पनि पक्राउ परे । आरोपीमध्ये कमल विश्वकर्मा भने फरार छन् । कमल दिपकका भाई हुन् ।
पक्राउ पर्दासम्म लालबहादुरले आफूमाथि के भइरहेको छ, भन्ने पत्तो पाएनन् । त्यसपछि पक्राउ परेका चारैजनाविरुद्ध इजाजतबिना बित्तीय कारोबार गरेको मुद्दा चल्यो । उनीहरुविरुद्ध जाहेरी दिएका २२१ जना र प्रहरी प्रतिवेदनमा उल्लेख भएका ५४ जना गरी जम्मा २७५ जनाको रकम हिनामिना गरेको आरोप लागेको थियो ।
३० दिन हिरासतमा बसेपछि अदालतले लालबहादुरलाई सामान्य तारिखमा छाड्न आदेश दिएको थियो । उनलाई लागेको थियो आफूले गल्ती गरेको छैन र सजाय पनि भोग्न पर्दैन ।
तर उनले सोचेजस्तो भएन । एक वर्षअघि गत २०७८ साल पुसमा उक्त मुद्दाको फैसला आयो । उनको सात्तो उडायो । परिवार समेत अलापबिलाप गर्न थाले । अदालतले उनलाई पनि दोषी करार गर्दै ३ करोड १४ लाख ११ हजार रुपैयाँ जरिवाना र डेढ वर्षको कैद सजाय सुनायो ।
उक्त फैसलामा दिपक विश्वकर्माले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १०३ को उपदफा १ को ‘क’ सम्बन्धी कसूर अर्थात इजाजत नलिई बैंक तथा वित्तीय कारोबार गरेको आरोपमा सोही ऐनको दफा १०४ को उपदफा १ को देहाय ‘क’ बमोजिम तीन वर्ष कैद र १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ जरिवाना सुनाइयो । त्यसको आधा रकम मुख्य दोषी ठहरिएका दिपकलाई पर्यो ।
त्यस्तै, अन्य प्रतिवादी सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा गजमेर, र गोपाल भनिने लालबहादुर विशवकर्मालाई सोही दफाअनुसार जनही १ वर्ष ६ महिना कैद र नौ करोड ४२ लाख ३३ हजार ४ सय ४४ रुपैयाँ दामासाहीले जरिबानाको सजाय गर्नू भन्ने फैसला भयो । उक्त रकम तीनजनामा भाग लगाउँदा ३ करोड १४ लाख ११ हजार रुपैयाँ पर्न आउँछ ।
अदालतबाटै ‘अन्याय’
स्थानीय सिहंदेबी ज्वेलर्समा काम गर्दै गरेका समयमा मालिक दिपक बिश्वकर्माको जालमा फसेका लालबहादुरको बिगोबापतको रकम जम्मा गर्ने हैसियत छैन । जिल्लाले गरेको फैसलाविरुद्ध उनले उच्च अदालतमा निवेदनदिएको नौं महिना भयो तर आजसम्म उच्चअदालत विराटनगरले उनको निवेदनमाथि कुनै सुनुवाइ गरेको छैन ।
छ पटक मुद्दा इजलासमा पेस भयो । तर, पाँचपटकसम्म पनि उनको मुद्दा ‘हेर्न नमिल्ने’ मा प¥यो । पहिलो पटक २६ पुस २०७९ मा सत्यमोहनजोशी र मुरारीबाबु श्रेष्ठको इजलासले प्रत्यर्थी झिकाउने अर्थात् मुद्दाको अर्को पक्षलाई झिकाउने आदेश दियो ।
त्यसपछि लालबहादुरको सोही मुद्दा ३ माघ २०७९ मा पेसीमा चढ्यो । राजनप्रसाद भट्टराई र मुरारीबाबु श्रेष्ठको इजलासमा सो मुद्दा पुगेको थियो । तर, प्रत्यर्थी झिकाउने आदेशमा रहेको भन्दै न्यायाधीश श्रेष्ठले उक्त मुद्दा आफूबाहेकको इजलासमा पेस गर्ने आदेश दिए । अर्थात्, ३ माघमा पेसी चढेको सो मुद्दा ’हेर्न नमिल्ने’ मा प¥यो ।
३ माघपछि २४ माघमा लालबहादुरको मुद्दा पेसीमा चढ्यो । गोला प्रथाबाट सो मुद्दा सत्यमोहन जोशी थारू र रामबहादुर थापाको इजलासमा परेको थियो । तर, प्रत्यर्थी झिकाउने आदेशमा न्यायाधीश सत्यमोहन जोशी थारूकै इजलासमा परेको भन्दै फेरि सो मुद्दा हेर्न नमिल्नेमा प¥यो ।
त्यसको झण्डै एक महिनापछि २६ फागुन २०७९ पुनः सो मुद्दाको पेसी चढ्यो । सधैँ ’हेर्न नमिल्ने’ मा पर्ने सो मुद्दा २६ फागुनमा भने ’हेर्न मिल्ने’ न्यायाधीशहरूकोमा परेको थियो ।
त्यसयता दुईवटा पेसी लालबहादुरको पुनरावेदनको मुद्दाका लागि तोकियो । तर, पहिलेझैँ हेर्न नमिल्ने न्यायाधीशको बेन्चमा परेपछि मुद्दा किनारा लाग्न सकेको छैन । २६ फागुनपछि २८ चैत २०७९ मा सत्यमोहन जोशी थारू र किरणकुमारी गुप्ताको इजलासमा पेसी तोकियो । तर, थारूको इजलासले सुरुमा आदेश गरेको भन्दै मुद्दा हेर्न नमिल्नेमा प¥यो ।
पछिल्लोपटक १९ वैशाख २०८० को पेसीमा समेत हेर्न नमिल्नेमै मुद्दा बस्यो । दिनेशप्रसाद यादव र मुरारीबाबु श्रेष्ठको इजलासमा परेपछि फेरि पनि सो मुद्दा हेर्न नमिल्नेमा पुगेको हो ।
बिपन्न परिवारका लालबहादुर मुद्दा मामिलाको झन्झटिलो प्रक्रिया अनि आफू निर्दोष भए पनि अनेक हण्डर खाइरहनुपर्ने अवस्थाबाट गुज्रिरहेका छन् । न्याय सम्पादनको काम पनि सहज रुपमा हुन सकिरहेको छैन । कहिले पाउलान् लालबहादुरले न्याय ?
Discussion about this post