विराटनगर । विराटनगरको कोशी अस्पतालमा शरीर जोडिएका जुम्ल्याहा जन्मिएका छन् । अस्पतालले यस्तो शिशु पहिलोपटक जन्मिएको जनाएको छ ।
सप्तरीको कल्याणपुरकी ३७ वर्षीया दुखनीदेवी भगत चौधरीले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । छातीदेखि पेटसम्मको भाग जोडिएको छ । पेटदेखि मुनिको भाग भने अलग छन् । अरु अंग पनि जोडिएका छैनन ।
दुवै छोरी हुन् । जन्मँदा तौल ३.४ किलोग्राम थियो ।
जुम्ल्याहा जन्माएकी महिला सिरहाको लहानमा डेरा गरेर बस्ने र पति (श्रीमान) आनन्द भगत चौधरीले त्यहीँ मिठाई बनाउने काम गर्ने गरेको बताउँछिन् ।
आफू बिरामी परेपछि छिमेकी राधादेवी मण्डलले अस्पतालसम्म ल्याइदिएको र छोरा बिरामी परेकाले उनी घर फर्किएको बताइन् । ‘मलाई यस्तो भएको सुनेपछि अर्काको मोटरसाइकल मागेर श्रीमान आउँदै हुनुहुन्थ्यो । दुर्घटनामा परेर राजविराज अस्पतालमा भर्ना हुनु भयो भन्ने सुनें,’ उनले भनिन् ।
ती महिलाका यसअघि दुई सन्तान छोरी छन् । चिकित्सकको निगरानीमा जुम्ल्याहा सन्तानसहित उनलाई प्रसूति वार्डमा राखेर उपचार भइरहेको छ । आफन्त कोही नआएकाले अरु बिरामीका कुरुवाले उनको स्याहार गरिदिन्छन् । जुम्ल्याहालाई दूध खुवाउन मद्दत गरिरहेका छन् ।
कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहका अनुसार सुत्केरीको आर्थिक अवस्था निकै कमजोर बुझिएको छ । उनको शल्यक्रिया गरी बच्चा बाहिर निकालिएको सिंहले बताए ।
अस्पतालले आफ्नै खर्चबाट सुत्केरी र जुम्ल्याहा शिशुको हेरचाह, स्याहार एवं उपचार गरिरहेको जानकारी उनले दिए ।
गर्भवती अवस्थाकी उनलाई यही वैशाख २१ गते बिहीबार बिहान अस्पतालमा भर्ना गरिएको निमित्त मेसु सिंहले बताए । अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अन्जु देवको नेतृत्वमा डा. मधुमीता राभा, डा. प्रकृति आचार्य र एनेस्थेसिया डा. राजकुमार यादवसहितको टोलीले उनको शल्यक्रिया गरेको थियो ।
कोशी अस्पतालको प्रसूति तथा स्त्रीरोग विभाग प्रमुखसमेत रहेकी डा. देवका अनुसार भिडियो एक्स–रे गरेर हेर्दा गर्भमा शरीर जोडिएका बच्चा रहेको पत्ता लागेको थियो ।
उनका अनुसार गर्भ बसेको ४–५ महिनामा ‘स्पेशल’ भिडियो एक्स–रे गर्दा पेटभित्र रहेको बच्चाको अवस्थाबारे थाहा हुन्छ । ती महिलाले सुत्केरी ब्यथा लागेपछि मात्रै पहिलोपटक भिडियो एक्स–रे गरेको र त्यसअघि नगरेका कारण बच्चाको अवस्था थाहा हुन नसकेको उनको भनाइ छ ।
चिकित्सकका अनुसार शरीर जोडिने जुम्ल्याहाको जन्मलाई दुर्लभ मानिन्छ । उनका अनुसार एकदमै दुर्लभ मानिने यस्तो घटना ५० देखि ६० हजारमध्ये १ जनामा हुन्छ । यस्ता शिशुको बाँच्नसक्ने क्षमता ५ देखि २५ प्रतिशत मात्रै हुने जानकारी उनले दिइन् ।
सुत्केरीको आर्थिक अवस्था कमजोरजस्तो देखिएकाले दाताको सहयोग बिना शरीर जोडिएका जुम्ल्याहाको उपचारमा समस्या हुनसक्ने डा. देव बताउँछिन् । ‘उपचार एवं हेरचाहमा सहयोग गर्न ओरेक नेपाललगायतका संघ संस्थासँग समन्वय गरिरहेका छौँ’ उनले भनिन् ।
डा. देवका अनुसार शरीर जोडिएका जुम्ल्याहाको स्वास्थ्य अवस्था सामान्य भए पनि आमाको नाजुक छ । सुत्केरीलाई उच्च रक्तचापको समस्यासँगै शरीरमा प्रोटिन र रगतको कमी रहेको उनले बताइन् । उपचार जारी राखिएका कारण सुत्केरीको अवस्था सामान्य बन्दै गएको उनको भनाइ छ ।
Discussion about this post