विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१० घर भएका दुई जनालाई प्रहरीले सुनका गहनासहित विराटनगरबाट सोमबार राति पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डीएसपी विजय श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडबाट ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार रहेका उनीहरुलाई राति ९ बजेतिर पक्राउ गरिएको जानकारी दिए ।
ठाकुरबारी रोडको आरके जेम्स ज्वेलर्समा गहना बेच्न खोज्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । शंका लागेपछि प्रहरीले उनीहरु सवार कार नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । डीएसपी दाहालका अनुसार पक्राउ परेकाको साथबाट पोतेमा प्रयोग गरिने विभिन्न डिजाइनका २ सय ३९ थान सुनका गहना बरामद गरिएको छ । बरामद भएको ९ तोला ४३ लाल सुनको बजार मूल्य ११ लाख बढी रहेको उनले बताए ।
दाहालका अनुसार सुनसँग सम्बन्धित बिल नभएको र ओसारपसार तथा बिक्रीको प्रक्रिया पूरा नगरेको पाइएपछि इन्द्र र गोविन्दलाई पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट प्रहरीले नगद ९८ हजार ३ सय रूपैयाँ पनि बरामद गरेको छ ।
प्रहरीले कार, सुनका गहना र नगदसहित दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।
पक्राउ परेकाले भने इटहरीमा आफूहरुको सुनका गहना बनाउने कारखान रहेको बताएका छन् ।
उनीहरुले विराटनगरका व्यापारीले अर्डर गरे अनुसारको सुनका गहना तयार पारेर बिक्रीका लागि ल्याउने गरिएको दाबी गरेका छन् । तर, साथमा सुनसँग सम्बन्धित बिल नभएपछि सुनको कारोबार शंकास्पद मानेर प्रहरीले नियन्त्रणमा लिएको हो ।
Discussion about this post