काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले उद्योग व्यवसायमा लगानी आकर्षित गर्नको लागि संस्थागत आयकरको दर घटाउन आवश्यक रहेको बताएका छन् ।
बुधवार महासंघले काठमाडौंमा आयोजना गरेको पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योग व्यवसायमा प्रतिष्पर्धी व्यवसायिक वातावरण बनाउँदै लगानी आकर्षित गर्नको लागि संस्थागत आयकरको दर घटाउन आवश्यक रहेको बताएका हुन् ।
उनले द्वन्द्वका बेला बढाइएको मूल्य अभिवृद्धि करको दरलाई आगामी बजेटमा सापेक्ष सुधार गर्न आवश्यक रहेको बताए ।
मूल्य अभिवृद्धिकरको दरमा सुधार गर्दा व्यवसायीको हितका लागि मात्र नभएर समग्र अर्थतन्त्रमा गुणात्मक प्रभाव पर्ने ढकालको भनाइ थियो ।
अध्यक्ष ढकालले वर्तमान सरकारले संकटमा रहेको अर्थतन्त्र सुधार गर्ने अपेक्षा गरेको उल्लेख गरे ।
विगत ४५ वर्षमा प्रतिव्यक्ति आय औसत आम्दानी दक्षिण एशियामा सबैभन्दा कम दरमा बढेको उनले जनाए ।
विगत ४५ बर्षको अवधिमा आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको भन्दै वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटलाई सुधारको प्रस्थानबिन्दु बनाउनुपर्ने धारणा ढकालले राखेका थिए ।
अध्यक्ष ढकालले विगत १५ वर्षमा आधा घटेको अर्थतन्त्रमा उत्पादनमुलक उद्योगको हिस्सा बढाउन विशेष कार्यक्रम आवश्यक रहेको बताए ।
Discussion about this post