विराटनगर । प्रहरी सक्रियता बढाइएसँगै कोसी प्रदेशमा फरार अपराधी (प्रतिवादी) हरु धमाधम पक्राउ पर्न थालेका छन् ।
जघन्य एवं सामान्य खालका अपराधमा अदालतले दोषी ठहर गरेपनि कैद तथा जरिवाना भुक्तान नगरिकन लामो समयदेखि फरार रहेकालाई पक्राउ गर्न विशेष अभियान चलाएर प्रहरी सक्रियता बढाइएको हो ।
अदालतले अपराधी करार गरिसकेका धेरै प्रतिवादी लामो समयदेखि फरार छन् । जसका कारण धेरै वर्ष कैद र ठूलो रकम जरिवाना असुल हुन बाँकी छ ।
अपराधी पक्राउ नपर्दा गाउँघरमा असुरक्षा बढेको जनगुनासो व्याप्त छ । अपराधी गाउँघरमा खुलेआम हिँडडुल गर्दा अपराधका पीडितले न्याय महसुस गर्न सकिरहेका छैनन् । उल्टै उनीहरु असुरक्षित भएर बस्नु परिरहेको छ । प्रहरी सक्रियतासँगै धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेपछि पीडितले न्यायको अनुभूति गर्न पाएका छन् । त्यस्ता अपराधी पक्रन प्रदेशका १४ वटै जिल्लामा व्यापक प्रहरी परिचालन गरिएको छ ।
अदालतबाट दोषी ठहर भएर कैद एवं जरिवानाको फैसला भएका अपराधीलाई खोजी गरेर पक्राउ गर्न कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बास्तोलाले विशेष टोली खटाएका छन् । फौजदारी र देवानी मुद्दाका फरार प्रतिवादी पक्राउलाई उनले आफ्नो कार्यकालको प्राथमिकतामा राखेका छन् । अदालतसँग समन्वय गर्दै प्रहरीले अपराधीको विवरण संकलन गरेर उनीहरुलाई पक्राउ गरिरहेको छ ।
पक्राउ पर्नेमा हत्या, बलात्कार, चोरी, लागूऔषध, लुटपाट, जुवा, कुटपिट, अभद्र व्यवहारलगायतका विभिन्न अपराधमा संलग्नहरु छन् । फैसला कार्यान्वयनका लागि प्रतिवादी पक्राउ अभियानलाई तीव्र पार्दा कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकाहरु धमाधम पक्राउ परिरहेको बास्तोला बताउँछन् ।
अपराधमा संलग्न भएर पक्राउ नपरेका व्यक्तिहरु गाउँघरमा लुकिछिपी बसेको भए तत्काल जानकारी दिन उनले सबैमा अनुरोध गरेका छन् । ‘अपराध गरेर फरार बनेका व्यक्तिका बारेमा सूचना दिनेको परिचय गोप्य राखिन्छ,’ डीआईजी बास्तोलाले भने, ‘प्रतिवादीलाई भने पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइने छ ।’
प्रतिवादी पक्राउ पर्ने क्रम बढेपछि अपराधबाट पीडित बनेकाले न्यायको अनुभूति गर्न पाएको उनको भनाइ छ । ‘अपराध गरेका व्यक्ति खुलेआम हिँडडुल गर्दा र पक्राउ नपर्दा पीडितले न्याय महसुस गर्न पाउँदैनन् । उल्टै पीडितले कानुनप्रति शंका गरिरहने वातावरण बन्छ,’ बास्तोलाले भने, ‘पक्राउ गरेर कानुनको दायरामा ल्याएपछि भने पीडितलाई न्याय र राहत मिल्छ । अपराधरहित समाज निर्माणको अभियानलाई सार्थक बनाउन अपराधी पक्राउलाई उच्च प्राथमिकतामा राखिएको छ ।’
प्रहरीले प्रतिवादीलाई पक्रेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ । जरिवाना तोकिएकालाई त्यसवापतको रकम लिएर छाड्ने गरिन्छ ।
प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म ९ सय ९३ जना फरार प्रतिवादीलाई कोसी प्रदेशका विभिन्न जिल्लाबाट पक्राउ गरिसकेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ परेकाबाट ५ सय ९० वर्ष कैद र २ करोड ८८ लाख ९३ हजार ७ सय २६ रूपैयाँ जरिवाना असुल भएको छ । चालु वर्ष सकिन समय बाँकी रहेका कारण पक्राउ पर्ने प्रतिवादीको संख्या बढ्ने प्रहरीले जनाएको छ ।
प्रहरीले आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ७ सय ३८ जना प्रतिवादीलाई पक्राउ गर्दा ९ सय ६८ वर्ष कैद र ८ करोड ७ लाख ४७ हजार ६ सय ७५ रूपैयाँ जरिवाना असुल भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा ७ सय ४३ जना प्रतिवादी पक्राउ पर्दा ७ सय ३५ वर्ष कैद र ४ करोड ४३ लाख ५८ हजार ९ सय २९ रूपैयाँ जरिवाना असुल भएको थियो ।
मोरङबाट एकैदिन १८ जना पक्राउ
मोरङको जहदा गाउँपालिका र सुनवर्षी नगरपालिकाबाट बुधबार एकैदिन १८ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) चन्द्रबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले लुटपाट र कुटपिट मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
मुद्दामा अदालतले दोषी ठहर गर्दै न्यून जरिवाना गरेको भए पनि त्यसवापतको रकम भुक्तानी नगरिकन उनीहरु लामो समयदेखि फरार थिए । पक्राउ पर्नेमा ११ जना लुटपाट र ७ जना कुटपिट मुद्दाका प्रतिवादी छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरीक्षक) रन्जनकुमार दाहालका अनुसार अदालतले न्यून जरिवाना गरेको भएपनि भुक्तान नगरिकन भागिरहेका उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा गाउँघरबाटै पक्राउ गरिएको हो ।
जिल्ला अदालत मोरङले लुटपाट मुद्दाका प्रतिवादीलाई २०७१ साल चैत २७ गते र कुटपिट मुद्दाका प्रतिवादीलाई २०७५ साल कात्तिक १८ गते जरिवानाको फैसला गरेको दाहालले बताए । उनका अनुसार प्रतिवादीलाई तोकिएको जरिवाना प्रतिव्यक्ति ३ सय ७५ देखि ५ सय रूपैयाँसम्म मात्रै छ ।
पक्राउ पर्नेमा लुटपाट मुद्दाका प्रतिवादी जहदा–४ का ४० वर्षीय रमेश ऋषिदेव, ३५ वर्षीया अकालदेवी ऋषिदेव, ५० वर्षीय मानिकचन ऋषिदेव, ६० वर्षीय फागुलाल ऋषिदेव, ४० वर्षीया लिलमदेवी ऋषिदेव, ५५ वर्षीय मदनलाल ऋषिदेव, ४५ वर्षीय विशेश्वर ऋषिदेव, ६८ वर्षीय सुकल मुखिया, ५५ वर्षीया सितयादेवी मुखिया, ७१ वर्षीय रामेश्वर मुखिया र ४३ वर्षीय बुधन मुखिया रहेका छन् । पक्राउ पर्नेमध्ये सुकल, सितयादेवी, रामेश्वर र बुधनलाई प्रतिव्यक्ति ५ सय रूपैयाँ तथा अन्यलाई ३ सय ७५ रूपैयाँ जरिवाना अदालतले तोकेको थियो ।
त्यस्तै, कुटपिट मुद्दाका प्रतिवादी सुनवर्षी–२ का ५५ वर्षीय प्रमोद साह, ३६ वर्षीय गंगा साह, ३९ वर्षीय अनिल साह, ६० वर्षीय मनोजकुमार साह, ४० वर्षीया दिलकुमारी साह, ५६ वर्षीय गणेश साह र ५१ वर्षीय पुष्पलाल आचार्य पक्राउ परेका छन् । उनीहरुलाई अदालतले प्रतिव्यक्ति ५ सय रूपैयाँ जरिवाना तोकेको डीएसपी दाहालले बताए ।
पक्राउ गरेर प्रहरीले बुधबार नै उनीहरुलाई पेश गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । जरिवानावापतको रकम भुक्तान गरेर सबैजना छुटेको जानकारी उनले दिए ।
Discussion about this post