मोरङ । मोटरसाइकल दुर्घटना हुँदा मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा बुधबार राति १ जना महिलाको मृत्यु भएको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रतुवामाई नगरपालिका–५ की ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको उनले बताए ।
प्रनि श्रेष्ठका अनुसार मानकीदेवी आफ्नै छोरा २९ वर्षीय दिनेशकुमार साहले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन् । दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि छोरा दिनेशले नै विराटनगरको गोल्डेन अस्पताल ल्याएका हुन् । उपचारका क्रममा राति १०ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा आमाको मृत्यु भएपछि दिनेशलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Discussion about this post