विराटनगर / मोरङको बूढीगंगाको एउटा उद्योगमा शुक्रबार बिहानका रातिदेखि भीषण आगलागी भइरहेको छ । आगो नियन्त्रण बाहिर रहेको र निभाउने प्रयास असफल भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा बिहानका राति २ बजेदेखि आगलागी सुरु भएको हो । आगो नियन्त्रणमा लिने ६ घण्टादेखिको प्रयास सफल भइरहेको छैन । बिजुलीको बल्ब र स्वीच निर्माण गर्दै आएको उद्योगमा अचानक आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रहेर नेपाल प्रहरीका निरीक्षक दुर्गा राई र सशस्त्रका निरीक्षक समराज खड्का नेतृत्वको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । साथै स्थानीय तथा उद्योगका मजदुरले पनि आगो नियन्त्रणमा मद्धत गरिरहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले लामो समयदेखिको आगो नियन्त्रणको प्रयास सफल हुन नसकिरहेको जानकारी दिए ।
विद्युत सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने प्रहरीको भनाइ छ । उद्योगका ३ वटा भवनमध्ये एउटामा आगो लागेको हो । सुरक्षाकर्मीले नजिकैका २ वटा भवनमा भने आगो फैलनबाट जोगाएका छन् । आगोले उद्योगको एउटा भवनसहित कच्चा पदार्थ, मेसिनहरु तथा तयारी सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । डीएसपी दाहालले आगो नियन्त्रणमा आइनसकेका कारण क्षतिको विवरण यकिन भइनसकेको बताए । यद्यपि, उद्योगका सञ्चालकले भने १५ करोड बराबरको क्षति भएको हुनसक्ने प्रहरीलाई बताएका छन् ।
Discussion about this post