धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाटमा लागूऔषध गाँजा नियन्त्रणमा लिने क्रममा शुक्रबार बिहान एक जना प्रहरी घाइते भएका छन् ।
गाँजा लिएर आउँदै गरेको को १ ख ३३६७ नम्बरको मिनी ट्रकलाई रोकेर प्रहरी चौकी मुलघाटले चेकजाँच गरेको थियो । प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ माथि चढेर मिनी ट्रकको खानतलासी गर्दै थिए । तामाङले चेकजाँच गरिरहेका बेला चालकले गाडी भगाउन खोजे ।
त्यस क्रममा ट्रकबाट लडेर सहायक हवल्दार घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार घाइते तामाङको धनकुटामै उपचार भइरहेको छ । उनको देब्रे खुट्टमा चोट लागेको छ ।
प्रहरीले सोही ट्रकमा लोड गरेर धरानतर्फ ल्याउँदै गरेको अन्दाजी ५ सय किलोग्राम गाँजा बरामद गरेको छ । प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा ट्रक भित्रबाट ठूलो परिणामको गाँजा बरामद भएको एसपी कोइरालाले जानकारी दिए । १७ वटा बोरामा ‘प्याक’ गरिएको गाँजा बिहान ५ः३० बजेतिर बरामद गरिएको उनले बताए ।
उनका अनुसार गाँजासहितको ट्रक भने मुलघाटकै सिरसिरेभन्ने ठाउँमा छाडेर चालक फरार बनेका छन् । फरार रहेका चालकको खोजी तीव्र पारिएको जानकारी कोइरालाले दिए । बरामद भएको गाँजासहित ट्रकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइएको उनको भनाइ छ ।
Discussion about this post