विराटनगर । सडकमा गुणस्तरहीन टेवा पर्खाल लगाइएको भन्दै विरोधमा विद्युतको ‘हाइटेन्सन’ प्रशारण लाइनको टावरमा चढेका मोरङको बूढीगंगाका एक व्यक्ति ११ घण्टापछि ओर्लिएका छन् ।
ओर्लनासाथ उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बूढीगंगा गाउँपालिका–७ का ३९ वर्षीय दिनेशकुमार माझीलाई पोलबाट ओर्लिनेवित्तिकै प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारी लगेको छ ।
माझी बूढीगंगा–७ डंग्राहामा रहेको १ लाख ३२ हजार भोल्ट (१३२ केभी) प्रशारण लाइनको टावरमा शनिबार बिहान चढेका थिए ।
निर्माणाधीन ‘रिटेनिङ वाल’ गुणस्तरहीन रहेकाले विद्युतको ‘हाइटेन्सन’ प्रशारण लाइनको पोलमाथि चढेर विरोध जनाउने जानकारी बिहान ४ः४५ बजेतिर प्रहरीलाई उनी आफैँले दिएका थिए ।
खोजी गर्दै निस्किएको प्रहरीले उनलाई टावर नम्बर १८ को टुप्पोमा फेला पारेको थियो । अनियमितता एवं भ्रष्टाचारमा संलग्नमाथि कारबाही हुनुपर्ने र पर्खाल निर्माण तत्काल रोक्नुपर्ने माग राख्दै विरोधमा उत्रिएका माझीले उच्च भोल्टको विद्युत प्रवाह भइरहेको पोलमाथि लगभग ११ घण्टा बिताए ।
माग सम्बोधन हुने आश्वासन पाएपछि उनी दिउँसो ४ः४५ बजेतिर ओर्लिएका थिए ।
सुरक्षाकर्मी, परिवारका सदस्य, आफन्त, स्थानीय र जनप्रतिनिधिले उनलाई ओर्लन दिनभर आग्रह गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार तथा प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराई आएर माग पूरा नगरेसम्म नओर्लिने माझीको अडान थियो ।
गुणस्तरहीन पर्खालको काम तत्काल रोक्नुपर्ने, निर्माणमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गरिनुपर्नेलगायतका माग उनले राखेका थिए माग पूरा नभए आत्महत्या गर्ने धम्की पनि दिएका थिए ।
गाउँपालिका अध्यक्ष थापामगर र प्रमुख प्रशासकीय अधिकृत भट्टराई दिउँसो ४ः२५ बजेतिर घटनास्थलमा पुगेका थिए । उनीहरुले मागको सम्बोधन गर्ने आश्वासन दिएपछि माझी पोलबाट झर्न राजी भएका हुन् ।
अध्यक्ष थापामगरले आफू र प्रमुख प्रशासकीय अधिकृत तेह्रथुमको पाथीभरा माता दर्शनका लागि गएको बताए ।
घटनाबारे सुनेपछि फर्किएको उनले बताए । गाउँपालिका उपाध्यक्ष भने न्यायिक समितिको गोष्ठीमा सहभागी हुन धनकुटाको पाख्रिबास गएको थापामगरले बताए ।
वडाध्यक्ष पंकज थारु चौधरीका अनुसार माझीले आृेर्लन नमानेपछि दिनभर तनाव बेहोर्नु परेको बताए । बूढीगंगा–७ को वडा कार्यालयदेखि दक्षिण जाने सडकमा टेवा पर्खाल निर्माणको काम भइरहेको जानकारी उनले दिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले माझीलाई टावरबाट उतार्न दिनभर प्रयास गरेपनि सफल नभएको बताए ।
ओर्लिनसाथ माझीलाई नियन्त्रणमा लिइएको उनले बताए । ‘पोलबाट झरेपछि उहाँलाई हाम्रो नियन्त्रणमा राखेका छौँ,’ दाहालले भने, ‘अरु पनि केही कुरा छन् कि भनेर बुझ्ने काम भइरहेको छ ।’
Discussion about this post