झापा । झापा इनर्जीले असोज १ गतेबाट सौर्य ऊर्जा उत्पादन गर्ने जनाएको छ ।
शिवसताक्षी नगरपालिका–४ मा निर्माण भइरहेको सौर्य ऊर्जा परियोजनाले १० मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने जनाएको हो ।
परियोजनाको काम अहिले अन्तिम चरणमा पुगेको सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।
परियोजनाको काम ७० प्रतिशत पूरा भएको र असोजबाट विद्युत उत्पादन गर्ने भट्टराईको भनाई छ ।
नेपालकै ठूलो र नमूना परियोजनाका रुपमा रहेको सोलार उर्जा उत्पादन परियोजनाले यस अघि आगामी असारबाट उत्पादन थाल्ने तयारी गरिरहेको थियो ।
साढे तीन वर्षअघिदेखि निर्माण शुरु गरिएको परियोजनामा अहिले प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको छ । उक्त कार्य ९५ प्रतिशत सकिएको बताइएको छ ।
२२ विगाह क्षेत्रफलमा परियोजना सञ्चालनमा रहेको छ । ७९ करोड रुपैयाँको लागतमा परियोजना निर्माण भइरहेको छ । ६० करोड बैंक मार्फत कर्जा लिइएको उक्त परियोजनामा २० करोड शेयरदाताहरुबाट लगानी गरिएको छ ।
परियोजनाका इन्जिनियर केशव चापागाईले प्यानल स्टेन राख्ने काम लगभग सकिएको जानकारी दिए । उनका अनुसार अब सोलार प्यानल जडान मात्रै बाँकी छ । त्यो काम धमाधम हुन्छ । उत्पादित उर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचनाहरु समेत तयारी भइसकेको छ ।
इन्जिनियर चापागाईका अनुसार २१ हजार ८४० थान प्यानल स्टेन (एमएमएस) जडान भइसकेको छ । सो स्टेनमा १ टेवल बराबर २८ प्यानलको टेवल बनाइने छ भने आधा टेवलका लागि १४ वटा सोलार प्यानल जडान गरिनेछ ।
इनर्जीका सञ्चालक नारायण पोखरेलले परियोजना अन्तिम चरणमा पुगेकाले अब उत्पादनको समय नजिक आएको जानकारी दिए ।
यता परियोजनाकी अर्का सञ्चालक पवित्रा देवी महतारा प्रसाईले उक्त परियोजनालाई ‘सोलार टुरिजम’ को रुपमा विकास गरिने बताइन् ।
Discussion about this post