इटहरी । ३३ जना ग्राहकको खाताबाट अनधिकृत रकम झिकेर हिनामिना गरेको आरोपमा इटहरीस्थित एभरेस्ट बैंक शाखा प्रमुखसहित ९ जना पक्राउ परेका छन् ।
ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एभरेस्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय विश्वराज शाक्यसहित ७ जना बैंकका कर्मचारी र अन्य २ जना छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईका अनुसार ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको आधारमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रकम हिनामिना गर्ने मुख्य योजनाकार भनिएका गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय दावा लामा, कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया टेलर पवित्रा कटवाल छन् ।
त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यविनायकका अजय खिउजु रहेको प्रहरीले बताएको छ ।
प्रधानलाई प्रहरीले गत चैत २२ गते पक्राउ गरेको थियो । त्यस्तै भुजेललाई वैशाख १० र खिउजुलाई बैशाख १३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्यलाई जेठ ५ गते शुक्रबार पक्राउ गरिएको हो ।
बैंकका कर्मचारीले बैंकको कम्प्युटर आईडी पासवर्ड दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम झिकेर हिनामिना गरेका थिए ।
बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एकसय ५० रुपैयाँ झिकेर हिनामिना गरेको पाइएको डीएसपी राईले बताए ।
पक्राउ परेका कर्मचारीसहित सबै जनालाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको राईले बताए ।
Discussion about this post