काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन् ।
काठमाडौंमा वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नै संविधानको पुनःमूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रुपमा संविधान लागू गरेर जाने समय रहेको बताए ।
‘संविधानलाई पुनःमूल्यांकन गर्ने बेला भएको छैन । यसलाई लागू गर्नेतिर हामी जाऔँ । एकाध चुनावहरु हुन्, राम्रोसँग यो लागू होस् त्यो हामी चाहन्छौँ’ उनले भने, ‘यो संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ, भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ ।’
उनले वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको बताए । प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे ।
यादवले भने, ‘हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरु सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानूनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ ।’
भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानुनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको पूर्वराष्ट्रपति यादवले उल्लेख गरे ।
Discussion about this post