विराटनगर । विराटनगरमा कारले ठक्कर दिँदा सुनसरीको इटहरी घर भएकी १ जना वृद्धा महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–९ की ७० वर्षीया मिथिला पोखरेलको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पैदल यात्रामा रहेकी उनलाई १० दिनअघि कारले ठक्कर दिएको थियो । पोखरेललाई कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ मा बागमती प्रदेश बी ए बी २२४६ नम्बरको कारले गत वैशाख २८ गते बिहान ठक्कर दिएको हो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको कारको ठक्करबाट घाइते भएपछि उनलाई उपचारका लागि नोबेलमा भर्ना गरियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार उपचारकै क्रममा शनिबार साँझ ५ः१५ बजेतिर उनको मृत्यु भएको हो ।
कारले ठक्कर दिएर घाइते भएकी वृद्धाको उपचार कार चालक विराटनगर–४ का ५६ वर्षीय प्रभाकर देवकोटाले नै गराउँदै आएका थिए । तर, उपचारका क्रममा वृद्धाको मृत्यु भएपछि देवकोटालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी दाहालले दिए ।
Discussion about this post