विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी नागरिकको पहिलो साथी भएको बताएका छन् ।
सुरक्षालगायत महत्वपूर्ण कार्यका लागि नेपाली जनताले खोज्ने पहिलो साथी प्रहरी रहेको उनको भनाइ छ । सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त रहेको बताउँदै कार्कीले प्रहरीलाई भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न बनाउनुपर्ने उल्लेख गरे ।
नेपाल सरकारले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको प्रहरीले पूर्वाधारको अभाव झेल्नुपर्ने अवस्था आउन नहुने उनको भनाइ छ । ‘सरकारले प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । अपराध नियन्त्रण र अनुसन्धानदेखि विविध भूमिका प्रहरीको हुन्छ,’ कार्कीले भने, ‘महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको प्रहरीको न्यूनतम पूर्वाधारका आवश्यकता पूरा हुनुपर्छ । नत्र प्रहरीबाट ठूलो अपेक्षा राख्न सकिँदैन ।’
वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आवश्यक बजेट विनियोजन गरेर प्रहरीलाई भौतिक हिसाबले सुविधा सम्पन्न बनाउन प्रदेश सरकार लागि पर्ने प्रतिवद्धता पनि जनाए । उनले प्रहरीको सेवा प्रवाहलाई सुदृढ र प्रहरीलाई प्रविधिमैत्री बनाउने तथा विपद व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराइने पनि बताए ।
सबै हिसाबले सुविधा सम्पन्न बनाउन नसके प्रहरीले शान्ति सुरक्षा र सुशासनमा प्रभावकारी भूमिका खेल्न नसक्ने कार्कीको भनाइ छ । ‘प्रहरीको सेवालाई प्रभावकारी बनाउन आवश्यक भौतिक पूर्वाधारदेखि लिएर प्रहरीलाई विभिन्न सुविधा उपलब्ध गराउन आवश्यक सहयोग गरिने छ,’ उनले भने, ‘प्रहरीले कुनै पनि कुराको अभाव झेल्न नपरेमा समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत हुन्छ ।’ अपराधरहित समाजको परिकल्पनालाई साकार पार्न प्रहरीले अभावको सामना गर्न नहुने उनको भनाइ छ ।
हालै स्थापना भएको कोसी प्रदेश प्रहरी अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा कार्कीले जोड दिए । प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि स्तरोन्नति गरी अस्पताललाई थप सुविधा सम्पन्न बनाइने उनले बताए । उनले प्रदेश सरकारले प्रहरीका लागि ५१ वटाभन्दा बढी नयाँ भवनहरु बनाइदिएको बताए । त्यसबाहेक प्रहरीका ब्यारेक, महिला प्रहरीका लागि चेन्जिङ रुम, स्तनपान कक्ष, सेवाग्राही बस्ने स्थान बनाउन सरकारले सहयोग गरेको कार्कीको भनाइ छ । उनका अनुसा प्रदेश सरकारले ३० थान ४ चक्के र ६ सयवटा मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरेको छ ।
कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले भौतिक पूर्वाधार बिना दैनिक कामकाजमा प्रहरीलाई समस्या पर्ने बताए । ‘भौतिक पूर्वाधारको अभाव हुँदा प्रहरीलाई सेवा र सहजताका लागि सही वातावरण सृजना हुँदैन,’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्छ ।’ सर्वसाधारणलाई समस्या पर्ने र सेवा प्रवाहमा असजिलो हुने हुँदा प्रहरीलाई भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न बनाउनुपर्नेमा उनको जोड छ ।
नवनिर्मित भवनबाट प्रहरीको सेवा प्रवाहमा सहजता आउने डीआईजी बास्तोलाले बताए । भने, ‘प्रहरीको कार्य क्षमतामा समेत अभिवृद्धि हुने छ । सर्वसाधारणले सहज सेवा पाउने छन् ।’ उनले सेवा लिन आउने हरेक वर्गका नागरिकलाई सभ्य र शिष्ट व्यवहार गर्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । सबैलाई समान व्यवहार गर्दै आमनागरिकको संरक्षक बनेर सेवा प्रवाह गर्न प्रहरीलाई बास्तोलाको निर्देशन छ ।
बास्तोलाले कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री कार्कीलगायतलाई मायाको चिनोसमेत प्रदान गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले राज्यले दिएको जिम्मेवारी पूरा गर्न प्रहरी प्रतिवद्ध रहेको बताए ।
शहरी विकास कार्यालयका ईन्जिनियर रुद्रनारायण मिश्रले प्रहरीको भवन निर्माण सम्बन्धी प्रतिवेदन पेश गरेका थिए । ३४ कोठा रहेको सुविधा सम्पन्न भवन ४ तालको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित बजेटले भवन निर्माण भएको वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं डीएसपी विजय श्रेष्ठले बताए । उनका अनुसार निर्माणमा ४ करोड ६३ लाख ८ सय ४३ रूपैयाँ खर्च भएको छ ।
नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईं, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रदेश सरकारका मुख्य सचिव डा. दीपक काफ्ले, जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलगायतको उपस्थिति थियो ।
Discussion about this post