केदार बस्नेत, धरान । धरानमा खानेपानी समस्या भएको दशकौँ भयो । झन्डै ४० को दशकदेखि धरानमा खानेपानी समस्या सुरु भएको हो ।
२०५० सालतिर धरानमा पानीको समस्या नभएको धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बो बताउँछन् । आफ्नो पहिलो कार्यकाल सम्झँदै उनले भने, ‘हाम्रो पालामा खानेपानी समस्या त्यति सारो थिएन । त्यसबेला बस्ती र जनसङ्ख्या पनि अहिलेको भन्दा धेरै कम थियो ।’
धरानमा अहिले खानेपानीको माग दैनिक ३ करोड लिटर भन्दा बढी छ । धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार अहिले २ करोड लिटर खानेपानी दैनिक वितरण भइरहेको छ । जसमा ४० लाख लिटर पानी जलाधार क्षेत्रका मुहानबाट आपूर्ति हुन्छ भने डेढ करोड लिटर पानी चारकोषे जङ्गलका १० वटा बेलबाट आपूर्ति हुन्छ ।
मागको अनुपातमा आपूर्ति कम भएकै कारण खानेपानीको हाहाकार हुने गरेको छ । खानेपानी समस्याका कारण धरानका होटेल, रेस्टुरेन्ट, विद्यालय, घरेलु उद्योग, ट्रेनिङ सेन्टरहरूले नियमित रूपमा ट्याङ्करको पानी किन्ने गरेका छन् ।
धरानमा सुख्खा याममा ४० भन्दा बढी ट्याङ्करले नियमित रूपमा खानेपानी विक्री वितरण गर्दै आइरहेका छन् । ती ट्याङ्करले दैनिक ४–५ ट्रिप लगाउने गर्दछन् ।
खानेपानीको सहज आपूर्तिको माग गर्दै सुख्खा याम लागेपछि धरानमा बर्सेनि आन्दोलन हुँदै आइरहेको छ । यस वर्ष पनि वडा १३ कार्यालयमा वडावासीले घेराउ गरे । सामाजिक सञ्जालमा खानेपानीको समस्या भएको गुनासो र फोटोहरू उत्तिकै अपलोड भइरहेका छन् ।
खानेपानीको समस्या लिएर खानेपानीको कार्यालय, उपमहानगर र वडा कार्यालयहरूमा सेवाग्राही दैनिक पुगिरहेका छन् । खानेपानी बोर्डका कार्यकारी निर्देशक पोखरेल भन्छन् ‘खानेपानी आएन भनेर त दैनिक सेवाग्राही कार्यालयसम्म आइपुग्नुहुन्छ, हामी गुनासो सुन्दै व्यवस्थापन गर्न रातदिन खटिरहेका छौ ।’
बजार, होटेल रेस्टुरेन्टमा चरम अभाव
धरानको मुख्य बजार क्षेत्र भानु चोक, छाता चोक, शान्ति पथ, चर्च लाइन, श्रीजंगा लाइन जस्ता क्षेत्रमा खानेपानीको चरम अभाव छ । सो क्षेत्रमा १० दिनमा एक पटक आधा घण्टा पनि पानी नआएको गुनासो स्थानीय गर्छन् । धरानको वडा ७, वडा ९, वडा १७, वडा १५, वडा १० क्षेत्रमा खानेपानीको चरम अभाव छ ।
धरान–७ का वडाध्यक्ष जीवन सुवेदीका अनुसार वडाको बुद्मार्ग, शान्ति पथ, श्रीजंगा लाइन, शुक्रपथ लगायतका क्षेत्रमा १० दिनदेखि खानेपानी छैन । धरान–७ शान्तिपथका स्थानीयले खानेपानी नभएको कारण तीन दिनदेखि होटेलमा खाना खान बाध्य भएको बताएका छन् ।
धरान–७ का नरेश शाक्यले १० दिनदेखि धारामा पानी नआएकोले खान समेत होटेलमा गएर खाएको बताए । होटेलमा ३ देखि ५ वटा कोठामा ग्राहक आए तत्काल एक ट्याङ्कर पानी किन्नुपर्ने अवस्था रहेको होटेल सञ्चालक रविन अधिकारी बताउछन् । उनले ‘ग्राहकसँग लिएको पैसाको आधा रकम खानेपानी किन्नका लागी छुट्याउनुपर्ने हुन्छ, यो अवस्थामा हाम्रो व्यवसाय कसरी चल्ला त ?’
गुनासो जति सामाजिक सञ्जालमा
धरान–१५ का प्रविन राई फेसबुकमा लेख्छन् ‘मेयरलाई सामाजिक सञ्जालमा वाह–वाही थामी नसक्नु छ यता जनता भने खानेपानी नपाएर काकाकुल भइसके ।’ धरान–१४ का ज्ञानेन्द्र श्रेष्ठका अनुसार ५२ सालदेखि धरान बसाइको क्रममा पहिलो पटक घरको चारवटै ट्याङ्की रित्तिएको छ ।
धरान–१६ का रोशन दाहालले हप्ता दिनदेखि धारामा खानेपानी नआएको गुनासो गरेका छन् । उनले ट्याङ्करबाट पानी किन्न पनि नपाएको बताएका छन् । पानी ल्याइदिन सम्पर्क गर्दा प्रायजसो ट्याङ्कर व्यस्त भएकोले भोलि वा पर्सि भन्दै भाका राख्ने गरेको बताए । उता धरान–१५का जीवन लिम्बूले भने ११ दिनदेखि धारामा पानी नआएको बताए ।
सामाजिक सञ्जालमा खानेपानीको अभाव भएको स्ट्याटस धेरै देखिन थालेको छ भने ट्याङ्करबाट खानेपानी किनेको फोटो भिडियो तथा नुहाउन र लुगा धुन धरान आसपासका क्षेत्रका खोला तथा कुवाहरूमा पुगेको फोटो भिडियोहरू सामाजिक सञ्जालमा प्रशस्त देखिन थालेको छ ।
८० भन्दा बढी खानेपानी उपभोक्ता समिति
धरानमा खानेपानी व्यवस्थापन बोर्डका बाहेक ८० भन्दा बढी खानेपानी उपभोक्ता समितिले खानेपानी वितरण गरिरहेका छन् । जसमध्ये वडा १३ मा मात्र १० वटा उपभोक्ता समिति छन् । धरानको वडा ३, ४, ५, ६, ११, १३, १४, १५, १६ र १७ नम्बर वडामा खानेपानी उपभोक्ता समिति छन् । ती उपभोक्ता समिति मध्ये कतिपयले सुख्खा याममा आफ्नै बेल बनाएर भूमिगत पानी प्रयोग समेत गर्दै आइरहेका छन् ।
करिब दुई वर्षअघि खानेपानी तथा ढल व्यवस्थापन विभागले गरेको सर्वेअनुसार उपमहानगरभित्र ९ हजार १ सय २४ धाराबाट ११ हजार ४६ घरपरिवारका ६० हजार ३ सय ७८ जनसङ्ख्यालाई ८२ वटा खानेपानी आयोजना र उपभोक्ता समिति मार्फत खानेपानी वितरण भइरहेको खानेपानी मन्त्रालयको अभिलेखमा उल्लेख छ । यी बाहेक दर्ता नभएका समितिहरू पनि छन् । समितिमा ५ देखि २० घर उपभोक्ता छन् । सर्वेमा संलग्न समितिहरू मध्ये अधिकांशमा उपभोक्ता सङ्ख्यामा वृद्धि भए पनि खानेपानीको स्रोत र वितरण प्रणाली भने पुरानै रहेको पाइन्छ ।
एक घण्टा लगाएर डोकोमा खानेपानी
धरानमा खानेपानीको अभाव कतिसम्म हुन्छ भन्ने कुराको सूचक धरान–१४ मा पुग्दा भेटिन्छ । धरान–१४ का स्थानीयले १ घण्टा लगाएर डोकोमा खानेपानी बोक्नु परिरहेको छ । धरान–१४ स्थित पिण्डेश्वर मन्दिर आसपासका क्षेत्रका बासिन्दाले खत्री धाराबाट खानेपानी बोकेर खाइरहेका छन् । स्थानीय पवित्रा सुब्बा दैनिक डोकोमा पानी बोकेर खान थालेको तीन महिना भएको बताउँछिन् ।
इन्टरकनेक्सनमा समस्या
धरानमा खानेपानी आपूर्ति गरिरहेको खानेपानी संस्थानको वितरण पाइपलाइन र आइयुडिपिको नयाँ वितरण पाइपलाइन बिच इन्टर कनेक्सन राम्रोसँग हुन नसक्दा समेत खानेपानी वितरणमा समस्या भएको छ । संस्थानबाट अवकाश प्राप्त एक कर्मचारीका अनुसार धेरै ठाउँमा समस्या हुनुको मुख्य कारण इन्टरकनेक्सन राम्रोसँग गर्न नसक्नु हो । जसका कारण कुनै स्थानमा खानेपानीको सहज आपूर्ति भइरहेको छ भने कुनै ठाउँमा चरम अभाव भइरहेको छ । दुई वटा पाइप लाइनको इन्टरकनेक्सन मात्रै राम्ररी व्यवस्थापन गर्ने हो भने पनि खानेपानीको सहज आपूर्ति हुने भनाइ उनको छ ।
मेयर साम्पाङ खानेपानीको स्रोत थप्दै
खानेपानी अभावलाई पूर्ति गर्ने बचनबद्धताका कारण हर्क साम्पाङलाई धराने जनताले विश्वास गरेर मेयरमा जिताए । मेयरमा निर्वाचित भएको भोलिपल्टदेखि श्रम अभियान चलाएर खानेपानीको स्रोत बढाउन सफल भएका छन् । उनले धरानको पकुवा, निशाने, सर्दुखर्दु जस्ता वर्षे मुहानलाई खाने पानीमा जोडेका छन् । जसका कारण खानेपानीको स्रोत थपिएको छ ।
तर, हिउँद लागेसँगै ती मुहान सुके पनि धरानको समस्या जस्ताको तस्तै भयो । यति वेला मेयर राई पानी कै लागि भनेर धरानको वडा २० मा पर्ने कोकाहा खोलाको पानी ल्याउन श्रमदान अभियानमा छन् । साम्पाङको अभियानबाट वर्षायाममा राम्रै पानी आए पनि हिउँदमा एकदमै कम पानी आएको खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल बताउछन् ।
साबिकका गाविसमा पनि समस्या उस्तै
धरान खानेपानी व्यवस्थापन बोर्डले साबिक धरान नगरपालिकाका १९ वटा वडामा मात्रै खानेपानी वितरण गरिरहेको छ । धरानमा पछि गाभिएका गाविस पाँचकन्या र विष्णुपादुकाका केही स्थानमा खानेपानीको समस्या धरानको जस्तै छ । साबिक पाँचकन्या गाविसको वडा ५ ९हालको धरान–५० र सविकको १, २, ३ ९हालको ६ वडा।० वडामा खानेपानीको समस्या छ ।
यी वडामा प्लटिङ हुने र बस्ती बढ्ने क्रम तीव्र छ । जसले गर्दा भविष्यमा झनै खानेपानीको समस्या हुने निश्चित छ । यी वडाहरू अहिले पनि सेहरा खोलाको पानीमा निर्भर छन्, यद्यपि अहिले वडा ६ मा भूमिगत पानीको बेल राखिएको छ । त्यसले पनि यी क्षेत्र पर्याप्त खानेपानी छैन । खानेपानीको अन्य स्रोत नभएकोले भविष्यमा सङ्कट आउने पानवारी खानेपानी उपभोक्ता समितिका पूर्व कोषाध्यक्ष विश्वराज कार्की बताउनुहुन्छ । उता विष्णुपादुकामा अहिले पनि डोकोमा खानेपानी बोकेर खानुपर्ने बाध्यता छ ।
स्रोत बढाउनुको विकल्प छैन
धरानमा खानेपानी सहज गराउनका लागी स्रोत थप्नुको विकल्प नरहेको जानकारहरू बताउनुहुन्छ । धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले धरानको बस्ती र जनसङ्ख्या वृद्धिलाई हेर्दा खानेपानीको स्रोत बढाउनुको विकल्प नभएको बताउछन् । ‘बेलैमा एडिबीसँगको सहकार्यमा खानेपानीको योजना ल्याएर चारकोषे जङ्गलमा बेल नराखेको भए अहिले धरानमा खानेपानीको समस्या विकराल हुने रहेछ ।’
उनका अनुसार जितिबेला धरानको जलाधार क्षेत्रबाट खानेपानीको आपूर्ति हुन्थ्यो त्यो बेलाको भन्दा स्रोत त बढेको छैन त्यसैले स्रोत बढाउनुको विकल्प छैन । धरानको खानेपानी सस्तो र सहज बनाउनका लागी लेउती–धरान सुरुङ मार्ग चाँडो निर्माण हुनुपर्ने मत पूर्व सांसद जयकुमार राईको छ । उनले आफू सांसद भएको बेला लेउती–धरान सुरुङ मार्गको योजना ल्याएको र सोही योजनाबाट धरान र आसपासका छिमेकी पालिकालाई समेत पुग्ने गरी खानेपानी ल्याउनुपर्ने मत राईको छ ।
Discussion about this post