विराटनगर । प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित पहिचान पक्षधरले गरेको प्रदर्शनका कारण कोसी प्रदेशसभा भवन आसपास क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शन र ढुंगामुडाका कारण विराटनगरको देवकोटा चोक तनावग्रस्त बनेको हो ।
प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा गरेका छन् । बाँस, लाठी, भालालगायत घरेलु हतियारसहित आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले प्रहरीमाथि गुलेली पनि प्रहार गरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुंगा लागेर केही सुरक्षाकर्मी घाइते भएका छन् ।
घाइतेहरुको विराटनगरको कोसी, गोल्डेनलगायतका अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनकारीतर्फ पनि केही घाइते भएका छन् । उनीहरुको पूर्ण विवरण आइसकेको छैन ।
आन्दोलनकारीले देवकोटा चोकमा रहेका पसलबाट प्लाष्टिकका कुर्सी, बाँस र अरु बस्तु लगेर सडकमै आगो बाल्दै प्रदर्शन गरेका थिए ।
ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो । स्थिति अझ उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यस क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रयोग गरेको थियो ।
आन्दोलनको नेतृत्वकर्ताहरुले माइकिङ गरेर आफूहरुको आन्दोलन शान्तिपूर्ण रहेको बताइरहँदा प्रदर्शनकारी भने सुरक्षाकर्मीमाथि खनिएका हुन् ।
स्थितिलाई नियन्त्रण बाहिर जान नदिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने थप केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार मध्यान्हसम्ममा ३७ जना आन्दोलनकारी पक्राउ परेका थिए । दिउँसो थप पक्राउ परे पनि संख्या यकिन छैन ।
प्रदर्शन उग्र बनेपछि देवकोटा चोक र आसपासका सर्वसाधारण त्रसित बनेका छन् । स्थानीय व्यापारीले त्यहाँका पसलहरु बन्द गरेका छन् । औषधि पसलहरु पनि बन्द भएका छन् ।
देवकोटा चोक कोसी प्रदेशको प्रदेशसभाबाट लगभग ५० मिटर पूर्वमा पर्छ ।
आन्दोलनलाई मध्यनजर गर्दै शनिबार मोरङ प्रशासनले प्रदेशसभा आसपास र विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरिएको छ । भीड नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट गुलेली, ढुंगा, लाट्ठी, बाँस, भाला बरामद गरिएको छ ।
कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको थियो । पहिचान पक्षधरले प्रदर्शन उग्र बनाएपनि प्रदेशसभा बैठक भने सुरु भइसकेको जनाइएको छ ।
Discussion about this post