काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज बुधबार चार दिने भारत भ्रमणमा जाँदैछन् । सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधामन्त्री दाहाल भारत भ्रमण यात्रामा निस्कन लागेका हुन् । पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । प्
रधानमन्त्री दाहाल आज दिउँसो २ बजेर ५० मिनेटमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । प्रधानमन्त्री दाहाल दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल आईटीसी मौर्यमा पुग्नेछन् ।
साँझ ६ बजे होटलमै आधा घण्टा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट हुनेछ । त्यसअगावै विदेश सचिव विनयमोहन क्वात्राले होटलमा प्रधानमन्त्री दाहाललाई भेट्ने बताइएको छ । प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि बिहीबार बिहान ११ बजे हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनिधिमण्डलस्तरको बैठकमा दुवै प्रधानमन्त्री बस्नेछन् ।
प्रधानमन्त्री दाहालले भोलि नै भारतका राष्ट्रपति दौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्नेछन् ।
भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन र इन्दोर जानेछन् । चौथो दिन शनिबार प्रधानमन्त्री दाहालले इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्नेछन् ।
अपराह्न १ बजे उनी त्यहाँबाट दिल्ली प्रस्थान गर्नेछन् । दिल्लीबाट अपराह्न ४ बजेर २० मिनेटमा उनी नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।
Discussion about this post